रातो रंगले के साँच्चै प्रभावित हुन्छन् चिनियाँ नेता ?

राष्ट्रपति 'सी'सँग भेट्ने विदेशी नेता रातो रंगमा सजिन चाहनुको कारण

रातो रंग लगाउने विदेशी अधिकारीले सीको आलोचनाबाट बँच्न नभई उनले मन पराऊन् भन्ने आश गरेका हुन सक्छन् । रातो रंग फ्रान्सेली क्रान्तिदेखि वामपन्थी राजनीतिको बिम्ब बन्दै आएको छ भने कम्युनिष्ट पार्टीहरुले यसलाई सबैतिर प्रयोग गर्छन् ।

नेपालभ्युज

रातो रंगले के साँच्चै प्रभावित हुन्छन् चिनियाँ नेता ?

होन्डुरसकी राष्ट्रपति सियोमारा क्यास्ट्रोले यसै महिना बेइजिङ भ्रमणको सबै तयारी गरेकी थिइन् । उनको मुलुकले मार्च महिनामा चीनको पक्ष लिँदै ताइवानसँग सम्बन्ध तोडेको थियो । चीनले विश्व बैंङ्कलाई टक्कर दिँदै संयुक्तरूपमा स्थापना गरेको सांघाईस्थित नयाँ विकास बैंङ्कमा आबद्ध हुने प्रक्रियामा समेत होन्डुरस देखिन्छ । तर, क्यास्ट्रोले थप कुरासमेत चाहिने महसुस गरिन् र आफ्ना समकक्षी सी चिनफिङलाई भेट्दा रातो ट्राउजर, सुट र सर्टसँगै रातो नेक टाई लगाइन् ।

होन्डुरसकी राष्ट्रपति चीनको राष्ट्रिय रंगमा सजिएर सम्मान प्रकट गर्ने पहिलो विदेशी विशिष्ट व्यक्ति भने होइनन् । सीसँग वार्ता गर्दा रोबर्ट मुगाबेदेखि भ्लादिमिर पुटिनसम्मका नेताले रातो टाई लगाएको पाइन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत चिनियाँ राष्ट्रपतिलाई अभिवादन गर्दा २ पटक आफ्नो ज्याकेटमा रातो रुमाल भिरेका थिए ।

प्रथम महिलाले योभन्दा बढी गरेको देखिन्छ । सन् १९७२ को ऐतिहासिक चीन भ्रमणका क्रममा रिचार्ड निक्सन र उनकी पत्नी प्याटले रातो ओभरकोट लगाएर नयाँ शैली थालनी गरेका थिए । मिचेल ओबामाले छोरीसँगै सन् २०१४ मा सीलाई बेइजिङमा भेट्दा रातो ड्रेस लगाएकी थिइन् ।

त्यस्तै, सीले सन् २०१७ मा फ्लोरिडाको भ्रमण गर्दा मेलानिया ट्रम्पले रातो पोसाक नै लगाएकी थिइन् भने फ्रान्सकी प्रथम महिला ब्रिजिट म्याक्रोंले २०१८ मा चीन भ्रमणका क्रममा बाहिर घुम्न र बेइजिङस्थित एउटा आर्ट ग्यालरी जाँदा रातो कोट लगाएकी थिइन् ।

चिनियाँ नागरिकले रातो रंगलाई समृद्धि र सौभाग्यको प्रतिक मान्छन् । १४औं शताब्दीमा मिङ वंशका पहिलो सम्राट एवं रातो पगडी विद्रोहका नेता झु युयाङझाङले रातो रंगलाई विशिष्ट भनेर घोषणा गरेका थिए । समयक्रमसँगै यो रंग लोकप्रिय संस्कार बन्न पुग्यो । चिनियाँले बिदाको उपहारस्वरूप रातो खाममा पैसा राखेर दिने गर्छन् । साथै, पहिलोपटक सन्तान जन्माउने बाबुआमालाई जन्मदिन मनाउन भन्दै रातो अण्डा दिने चलन छ।

नियान नामक राक्षसले नयाँ वर्षको सुरुमा बालबालिकालाई तर्साउने गरेको, तर रातो कपडा लगाएका एकजना साना बालकका कारण गाउँलेले उक्त राक्षस भागेको देखेको भनेर चिनियाँ कथामा उल्लेख छ । यही भएर चिनियाँले नयाँ वर्ष र अन्य चाडपर्व मनाउँदा रातो लालटिन झुण्ड्याउन सुरु गरेका हुन् ।

रातो रंग लगाउने विदेशी अधिकारीले सीको आलोचनाबाट बाँच्न नभई उनले मन पराऊन् भन्ने आश गरेका हुन सक्छन् । रातो रंग फ्रान्सेली क्रान्तिदेखि वामपन्थी राजनीतिको विम्ब बन्दै आएको छ भने कम्युनिस्ट पार्टीहरूले यसलाई सबैतिर प्रयोग गर्छन् ।

रातो सतहमा ५ वटा सुनौला तारा अंकित राष्ट्रिय झण्डाले शहीदको तातो रगतको प्रतिनिधित्व गर्छ भनेर चिनियाँ बालबालिकालाई लामो समयसम्म सिकाइयो । साँच्चै भन्ने हो भने कतिपय विशिष्ट विदेशी व्यक्तिलाई रातो रंगले सौभाग्य निम्त्याएको छ ।

चीन-अमेरिका सम्बन्धमा नयाँ युग थालनी गर्दै निक्सनको भ्रमण सफल भयो । सियोमारा क्यास्ट्रो विभिन्न सहमति गरेर बेइजिङबाट फर्किसकेकी छन् र ती सहमतिले होन्डुरसमा लगानी भित्रिने उनको आशा छ । तर, कहिलेकाहीँ रातो पहिरनमा सजिने विदेशी नेता भने निराश भएर स्वदेश फर्किने गर्छन् । यसबाट चीनसँगको सम्बन्ध त्यति मात्रै नभई अरू कुरा पनि हो भन्ने देखिन्छ ।

(द इकोनोमिस्टबाट )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved