हावादारी भाषणमा रमाउँदै प्रधानमन्त्री प्रचण्ड

यसअघि केपी शर्मा ओलीले पनि यस्तै हावादारी गफ सुनाउँथे । मुलुक स्वर्ग नै बनिसकेको जस्तो हल्ला फैलाउँथे । यथार्थमा मुलुक जहाँको त्यहीँ थियो । ठ्याक्कै त्यस्तै रोग अहिले प्रचण्डमा पनि सरेको छ । 

हावादारी भाषणमा रमाउँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । ‘सरकारप्रति जनताको भरोसा निकै बढाएका छौं, यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धी हो’, बुधबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्वका साथ भने, ‘वर्षौदेखिको फोहोरको डंगुर सफा गर्न समय लाग्छ, र त्यसको सुरुवात गरिसकेका छौं ।’

सरकारमाथि उठेका प्रायः प्रश्न प्रायोजित एवम् नियोजित भएको आरोप लगाउँदै उनले ‘देशमा विकासको बहार छाइरहेको’ दाबी पनि गरे । उनकै भाषामा ‘देशमा विकासको तुफान’ आउँदैछ । देशका युवा र सामाजिक सञ्जालप्रति कटाक्ष गर्दै उनले भने, ‘विगतमा नदीमा दुध नै बग्थ्यो जसरी हल्ला गरिन्छ, यहाँ भएका काम लुकाइन्छ ।’

यसरी आलोचक एवम् प्रश्नकर्ताप्रति आक्रामकहुँदै आफूले भयङ्कर काम गरेको फेहरिस्त सुनाए, प्रचण्डले । तर उनका हरेक जवाफभित्र पनि थुप्रै प्रश्न लुकेका छन् । अर्थात् उनका जवाफले प्रतिप्रश्न निर्माण गरेका छन् ।

के उनले भनेजस्तै मुलुक सुशासनको दिशामा अघि बढेको हो ?

पछिल्लो समय तीन ठूला भ्रष्टाचार काण्ड चर्चामा छन् । एक, भुटानी शरणार्थी प्रकरण । दुई, ललिता निवास प्रकरण । र तीन, पशुपतिको जलहरी प्रकरण ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत थुप्रै ‘हाइप्रोफाइल’ पक्राउ परे । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । यो मामलामा अहिलेको सरकारले जश लिन खोजिरहेको छ । जुन स्वभाविक पनि हो । तर ललिता निवास र जलहरीको विषय पुरानै हो ।

विगतदेखि नै सिआईबीले अनुसन्धान गरिरहेको ललिता निवास प्रकरणमा कोही पक्राउ पर्नुमा वर्तमान सरकारले कति जश लिने ? त्यस्तै अख्तियारले जलहरी जोखेको कुरामा पनि सरकारले आफ्नो नम्बर बढाउन खोजेको छ ।

देशमा जताततै भ्रष्टाचार र अनियमितता मौलाएको जनगुनासो छ । वडा कार्यालयदेखि सिंहदरबारसम्म, विद्यालय र अस्पतालदेखि नापी र मालमोतसम्म, जताततै मनलाग्दी छ ।

सरकारी कार्यालय तथा सरकारी सेवा पट्यारलाग्दो मात्रै होइन, यातनादायी छ । यातायात व्यवस्था कार्यालयदेखि राहदानी विभागसम्मको स्थिति कस्तो छ ? विश्वविद्यालयहरुको बेथिति जगजाहेरै छ । कमिसन र घुसबाहेक कसैले केही पनि काम गर्दैनन् । जसबाट जनता आजित छन् ।

अनि प्रधानमन्त्री संसदको रोष्ट्रममा उभिएर भन्छन्, देश सुशासनको मार्गमा द्रुत गतिमा अघि बढिरहेको छ ।

हो, केही काण्डमा छानबिन अघि बढाउन सरकारले पक्कै खोजेको छ । तर, यतिले मात्रै संरचनागत भ्रष्टाचारको जालो तोडिन्छ ?

अलि ठूला केही काण्डका फाइल खोल्ने, धेरै चर्चा कमाउने र भए भन्दा धेर प्रचार गर्ने प्रवृति प्रधानमन्त्रीमा देखिएको छ । पक्कै पनि अनियमितताका फाइल खोलेकोमा सरकारलाई धन्यवाद दिनुपर्छ । तर, यसले मुलुकमा जरैसम्म गडेको भ्रष्टाचार कम हुँदैन है भनेर सम्झाउनु पनि पर्छ ।

त्यसका लागि सानोतिनो पहल हैन, योजनावद्ध ठूलै शल्यक्रियाको खाँचो छ । सरकार त्यसतर्फ भन्दा पनि चर्चा कमाउने खालका केही काण्डमा अलमलिन खोजेको छ ।

मुलुक समृद्धिको राजमार्गमा अघि बढेकै हो ?

प्रधानमन्त्रीले संसदलाई गरेको सम्बोधन सुन्दा यस्तो लाग्ने थियो कि, देशमा विकासको लहर चलिरहेको छ । भारत भ्रमण निकै फलदायी भएको दाबी गर्दै उनले समृद्धिको ‘मेनगेट’ खुलेझैं तर्क गरे । १० हजार मेगावाट बिजुली उत्पादन गरेर बेचेपछि देश कहाँबाट कहाँ पुग्छ ! जस्तो बनाए ।

तर के देशमा अहिले त्यस्तो लोभलाग्दो ढंगमा विकास निर्माणका काम भइरहेका छन् । गाउँ–ठाउँमा सडक खनिइरहेको र कालोपत्रे भइरहेको कामको जश लिँदै प्रधानमन्त्रीले संसदबाट भाषण गर्न सुहाउँदो विषय हो ?

के कोही पनि नेपाली नागरिकलाई प्रचण्ड नेतृत्वको सरकार बनेपछि मुलुक समृद्धिको गतिमा लम्किएको अनुभूति भएको छ ?

यसअघि केपी शर्मा ओलीले पनि यस्तै हावादारी गफ सुनाउँथे । मुलुक स्वर्ग नै बनिसकेको जस्तो हल्ला फैलाउँथे । यथार्थमा मुलुक जहाँको त्यहीँ थियो । ठ्याक्कै त्यस्तै रोग अहिले प्रचण्डमा पनि सरेको छ ।

विकास र समृद्धि नागरिकले अनुभूति गर्ने विषय हो । तर, अहिले त्यस्तो कतै देखिँदैन । बरु मुलुक अहिले विकासमा दौडिरहेको छ भन्दै  प्रधानमन्त्रीलाई बालुवाटारमा आसपासेले सुनाउँछन् होला । उनले संसदमा आएर त्यही दोहोर्याउँछन् ।

अन्यत्र पनि प्रधानमन्त्रीले त्यस्तै भाषण गरेर हिँडिरहेका छन् । यो सुन्दा प्रचण्डमा आजकल ओलीकै छनक आउन थालेको छ । चाहे त्यो सामाजिक संजालको सवालमा होस वा विकासको सवालमा ।

देशको आर्थिक सूचकमा सुधार आएकै हो त ?

संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक स्थितिमा निकै सुधार आएको दाबी गरे । कतिपयले देश श्रीलंका जस्तो हुन लागेको भनेर सरकारको आलोचना गरेकोप्रति चित्त दुखाउँदै उनले थुप्रै आर्थिक सूचक सुधारका काम भएको बताए ।

तर के कोही व्यवसायी वा कृषकसँगै आमनागरिकले देशको अर्थव्यवस्था सुध्रिएको अनुभूत गर्न पाएका छन् ? उद्योग बन्द भएका छन् । व्यापार व्यवसाय चौपट छ । सहकारी सञ्चालक फरार छन् । व्यापार घाटा बढ्दो छ । उत्पादन घटेको घट्यै छ ।

यस्तो स्थितिमा प्रधानमन्त्रीले ‘देशको अवस्था ठिकठिक छ’ भनेको भरमा जनताले पत्याउलान् ?

बरु प्रधानमन्त्रीले मुलुकको अर्थ व्यवस्था माथि उठाउन संरचनागत रुपमै ठूलो पहल लिनुपर्ने खाँचो थियो । त्यसका लागि विज्ञहरुसँग सरसल्लाह पनि जरुरी थियो । उनी त्यतातिर लागेका छैनन् ।

अहिले पनि हरेक दिनजसो उद्घाटन, शीलान्यास र नचाहिँदा कार्यक्रममा रमाइरहेका छन् । भाषण गरिरहेका छन् । तर, अर्थतन्त्रको उत्थानका लागि छलफल गरेको अहिलेसम्म एक पटक पनि सुनिएको छैन । देखिएको छैन ।

के सामाजिक सञ्जालले सरकारविरुद्ध भ्रम छरेको हो ?

संसदमा बोल्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालसँगै युवा वर्गप्रति आक्रोश नै व्यक्त गरे । देशमा धेरै काम हुँदा पनि केही नभएको भन्दै भ्रम छर्नमा सामाजिक सञ्जालको हात रहेको उनको बुझाइ थियो । विगतमा नदीमा दुध बग्थ्यो भनेजसरी भ्रम छरेको भन्दै उनले रोष प्रकट गरे ।

के साँच्चै अहिले औधि राम्रा काम भए पनि नदेखेर प्रसंशा नभएको हो ? त्यस्तो कतै पनि देखिदैन । भ्रष्टाचारका केही घटनामा सरकारले लिएको पहलको सबैतिर स्वागत भएको छ ।

एउटा यो विषयलाई छाड्ने हो भने सरकारको काम कतै पनि सन्तोषजनक छैन । योजनावद्ध विकास निर्माण अघि बढेको त झन कसैले पनि देखेका छैनन् । न त त्यो ढंगले कुनै नयाँ कार्यक्रम नै अघि बढाएको छ ।

यी मात्रै होइनन्, यस्ता थुप्रै प्रश्न छन् । किन कोही पनि शासकलाई आलोचना मन पर्दैन होला ? किन उनीहरु सबैबाट स्तुति मात्रै चाहन्छन् होला ?

विगतमा ओली यस्तै गर्थे अहिले प्रचण्डमा सरेको छ । तर, शासकहरुले बुझ्नुपर्ने कुरा हो कि नागरिकले आफ्नो जीवनमा परिवर्तन भएको जबसम्म अनुभूत गर्दैनन् तबसम्म जतिसुकै भाषण गरे पनि कुनै अर्थ हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved