भारत र थाइल्यान्डमा नेपाल टेलिकमको मोबाइलमा रोमिङ शुल्क घट्यो

नेपालभ्युज

भारत र थाइल्यान्डमा नेपाल टेलिकमको मोबाइलमा रोमिङ शुल्क घट्यो

काठमाडौं। नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर कमी गर्ने भएको छ ।मे १७ मा मनाइने आईटीयू डेको अवसरमा भोलि देखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपैयाँ शुल्क लाग्नेछ । त्यसैगरी, नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रुपैयाँ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपैयाँ नै लाग्ने छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था छ । त्यसैगरी, थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ मात्र लाग्ने छ । त्यसैगरी, आएको कल उठाउँदा प्रतिमिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा १३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव ५ रुपैयाँ मात्र लाग्ने छ ।

अन्य देशमा जाँदा/रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved