बाबुरामले भनेका थिए, ‘प्रधानमन्त्री र मुख्यमन्त्री गोरखाबाटै हुन्छ’

नेपालभ्युज

बाबुरामले भनेका थिए, ‘प्रधानमन्त्री र मुख्यमन्त्री गोरखाबाटै हुन्छ’

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मंसिर ४ अगाडि चुनाव प्रचारप्रसारको क्रममा गोरखा ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री पाउने कुरा गरेका थिए। त्यतिबेला उनको भनाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता सुरेन्द्रराज पाण्डेतर्फ लक्षीत थियो ।

आफू उम्मेदवारसमेत नरहेका भट्टराईले आफैंले निर्वाचन जित्दै आएको गोरखा-२ मा पूर्वसहयात्री एवं माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डलाई नै उम्मेदवार प्रस्ताव गरेका थिए। प्रचण्ड उम्मेदवार रहेकै क्षेत्रमा प्रदेशतर्फ उम्मेदवार थिए कांग्रेसका सुरेन्द्रराज पाण्डे र नेसपा केन्द्रीय सदस्य फणिन्द्र देवकोटा। डा. भट्टराईले त्यतिबेला मतदाता रिझाउन मात्रै भनेको होइन रहेछ भन्ने कुरा आज प्रमाणित भएको छ।

डा. भट्टराईले भनेजस्तै गोरखा-२ का प्रतिनिधिसभा सदस्य प्रचण्ड नेपालको प्रधानमन्त्री र पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री चुनिएका छन्। संयोग भनौं डा. भट्टराई र  पाण्डे दुवै गोरखा पालुङटार नगरपालिका– १ खोप्लाङ निवासी छिमेकीसमेत हुन्। बाबुरामको गृह जिल्ला मात्रै नभई गृहनगर र उनको आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको गोरखा २ का प्रतिनिधिसभा सदस्य प्रचण्ड हुन भने  कांग्रेस नेता  पाण्डे २ (२) का प्रदेश सभा सदस्य हुन् । ५८ वर्षीय पाण्डेले १६ हजार ८८७ मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका थिए ।

अर्का गोरखा २ (१)का देवकोटासमेत मन्त्री हुने तरर्खरमा देखिन्छन्। यदि, गण्डकीमा माओवादीले थप मन्त्रालय पाउँदा देवकोटा मन्त्री हुने अग्रपंक्तिमा छन्। गोरखाबाटै राष्ट्रिय सभा सदस्य रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री छन् भने गोरखा-१ का प्रदेशसभा सदस्य कृष्ण धिताल गण्डकी प्रदेश सभामा सभामुख छन्।

बिहीबार प्रदेशका ३५ सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले कांग्रेस–माओवादीसहितको गठबन्धन प्रदेशसभाको अवधिभर नटुट्ने र मुख्यमन्त्रीमा आलोपालो हुनेसमेत बताए। ‘यो गठबन्धनको अवधि प्रदेशसभाको अवधि जति नै टिक्छ’ उनले भने–‘तर, सरकारको नेतृत्वमा भने आलोपालो हुन्छ।’

नवनियुक्त मुख्यमन्त्री पाण्डेले भनेजस्तै आलोपालो भएमा माओवादीका हरिबहादुर चुमान पाण्डेपछिको मुख्यमन्त्री हुनेछन्। यद्यपि, गण्डकीमा ४ जना मुख्यमन्त्री फेरिँदा पनि माओवादीले पालो पाएको छैन। गण्डकी प्रदेश सरकारको नेतृत्व पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, खगराज अधिकारीले गरिसकेका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन्।

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसद १ (मनाङबाट सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ) को मुख्यमन्त्री पाण्डेलाई समर्थन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved