चितवन-२ : रविलाई स्पष्टीकरण, सीडीओलाई मतगणनास्थलमा रोक !

नेपालभ्युज

चितवन-२ : रविलाई स्पष्टीकरण, सीडीओलाई मतगणनास्थलमा रोक !

काठमाडौं। चितवन-२ मा आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएका थिए । उनकै उजुरीको कारण निर्वाचन कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतबारै जवाफ पनि आएको आयोगले जनाएको छ। तर, जवाफमा रविले के कुरा उल्लेख गरेका छन् ? भन्ने कुरा निर्वाचन आयोगमा पठाइएको बुझिएको छ।

निर्वाचन भइराखेको समयमा लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेस उम्मेदवारले उजुरीमा उल्लेख गरेका थिए।

यसैगरी, चितवन-२ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने दलहरूले सहमति गरेको खुलेको छ । दलहरूकै सहमतिमा प्रजिअ पौडेल मतगणनास्थलमा नजान तयार भएका हुन्।

मतगणना सुरू हुनुअघि बसेको सर्वदलीय बैठकमा सीडीओ मतगणनास्थलमा उपस्थित नहुने सबै सुरक्षाको जिम्मा निर्वाचन अधिकृतलाई दिने निर्णय भएको बुझिएको छ। यद्यपि, यो विषयमा प्रजिअ पौडेल मौन छन्।

उनलाई रास्वपासँग नजिक भएर काम गरेको आरोप कांग्रेस, एमाले र माओवादीका नेताले लगाएका छन्। निर्वाचनका क्रममा रास्वपाले आचारसंहिता उल्लंघन गरेको र प्रजिअ पौडेलले समेत एकपक्षीय निर्णयहरू लिएको भन्दै अन्य दल रुष्ट छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved