पोखरामा सन्नाटा

तुवाँलोको घुम्टोले पोखरा बजार छोपिँदा…

कोरोनाले थलिएर माथि उठ्दै गर्दा विमान दुर्घटनाको चोट, फेरि तुवाँलोले धक्का

तुवाँलोले पोखरा उकुसमुकुस थियो। डाँडा कतै देखिएका थिएनन्। अन्नपूर्ण हिमशृङ्खलाको ‘आँगन’ पोखराबाट माछापुच्छ्रे, धौलागिरि र मनासलु त झन् टल्किने कुरै भएन। लाग्थ्यो, तुवाँलोको आफ्नो साम्राज्य फैलाउँदै हिमशृङ्खलाका दृश्य कब्जा गरेको छ।

तुवाँलोको घुम्टोले पोखरा बजार छोपिँदा…

पोखरा। ‘‘ह्या पछाडि हिमालै देखिएन। उ परको डुङ्गामा मान्छेहरू आइराको पनि क्लियर देखिएन। भो अब फोटो नखिचौँ’’, बिहीबार बिहान फेवातालको तालबाराही मन्दिरबाट फोटो खिँच्दै गरेकी एक युवती गुनासो गर्दै थिइन्।

‘‘कस्तो पुस माघको मौसम जस्तो, फेवाताल नै परसम्म देखिएको छैन, हिमाल काँ’बाट देखियोस् त’’ उनकी अर्की साथीले मुख बिगार्दै थपिन्। मन्दिरको अगाडि पट्टी डुङ्गा चढ्ने र ओर्लने ठाउँबाट फोटो खिच्नेहरू उस्तै गुनासो पोखिरहेका थिए।

बाक्लो तुवाँलोले गर्दा पोखरा उकुसमुकुस थियो। आसपासका डाँडा कतै देखिएका थिएनन्। अन्नपूर्ण हिमशृङ्खलाको ‘आँगन’ पोखराबाट माछापुच्छ्रे, धौलागिरि र मनासलु त झन् टल्किने कुरै भएन। लाग्थ्यो, तुवाँलोको आफ्नो साम्राज्य फैलाउँदै लगेपछि हिमशृङ्खला र अरू दृश्यहरू कब्जा गरेको छ।

घुम्न आएकाहरू हेर्न र मोबाइलमा माछापुच्छ्रेको फोटो कैद नपाउँदा चुकचुकाइरहेका देखिन्थे।
त्यस्तै बिहान १० को हुँदो हो।

तालबाराही मन्दिर पुग्दा पोखराले घामै नपाए जस्तो लाग्थ्यो। मधुरो घाम भए पनि ज्यादा गर्मी। उज्यालो र अँध्यारोको अनौठो संगम देखिन्थ्यो फेवाताल।

मन्दिरपछाडि तालको पानीमा खेल्दै चराचुरुङ्गी उडिरहेका थिए। पानीभित्र माछा खुसी भएर खेलिरहेका थिए। प्रकृतिको आनन्दमा ती दृश्यलाई आफ्नो मोबाइलमा कैद गर्नेहरू धेरै थिए। मन्दिरको पछाडि भागमा रहेको बारमा फलामे बारमा आड लागेर फोटो खिच्नेहरू थिए।

तर, पछाडिको हरियाली जङ्गल राम्रो आएन। अलि परको डुङ्गा स्पष्ट नआएकोमा मानिसहरू सन्तुष्ट थिएनन्। ‘‘हिमाल कति बेला टल्किएला र राम्रो फोटो खिच्न पाइएला?’’ मानिसहरू गुनगुन गर्दै थिए।

‘‘बल्ल बल्ल ठूलै युद्ध जिते जसरी पोखरा त आइयो। तर राम्रोसँग केही देख्नै पाइएन यार’’ तीनचार जनाको समूहमा देखिएका युवाहरूबीच कुरा चल्दै थियो।

सम्पूर्ण गतिविधि देख्दा लाग्थ्यो, व्यग्र पर्खाइ थियो चम्किलो घामको। चाहना थियो तँवालोको हटाइ र ‘क्लियर’ मौसमको। किनकि, फेवा तालको निलो रङ्ग समात्नु थियो मोबाइलको क्यामराले।

तर, मौसमसँग कसको के लाग्थ्यो र। मौसम तातो थियो र पनि घामै नपाए जस्तो। धुवाँका कण हावामा देख्दा सायद कतिपयलाई लाग्दो हो ‘सास पनि नफेरौँ’ जस्तो।

पानी नपर्दा डम्म तुवाँलोको घुम्टोले पोखरालाई ढाकेर राखेको छ। हावा नचल्दा गर्मीले हप्प भएको छ। ‘‘बिहान कहिलेकाहीँ मधुरो घाम झुलुक्क देखिन्छ। एकै छिनमै तुवाँलो र धुवाँ लागिहाल्छ’’ तालबाराही मन्दिरबाट यात्रुलाई फर्काउँदै गरेका डुङ्गाका चालकले भने।

‘‘अब कहिले खुल्छ’’ जिज्ञासुहरू सोध्थे। ‘‘डेढ महिना भयो पानी नपरेको। एक झमेट पानी पर्यो‍ भने सबै जान्थ्यो। खै पानी नै पर्दैन’’ प्याडल चलाउँदै डुङ्गा चालकले भने।

मन्दिरमा अरू दिनको तुलनामा निकै कम थिए, दर्शनार्थी र पर्यटक। चहलपहल कम भएकाले फेवाताल किनाराका धेरैजसो डुङ्गाहरू आराम गरेर बसिरहेका थिए। थोरै मात्रै चलायमान देखिन्थे। मान्छेको चहलपहल कम हुनुको फाइदा उठाइरहेका थिए यताउति गर्दै सेता बकुल्लाहरू।

पोखरामा साँझ प्रायः पानी पर्छ। पोखरेली पानी र नानीको भर हुँदैन भन्ने चर्चित कथनलाई मौसमले सकभर गलत साबित गरिदियो। ‘‘पहिला पहिला छिनमै पानी पथ्र्याे, छिनमै घाम घाम लाग्थ्यो, अहिले डेढ महिना भयो पानी नपरेको,’’ पोखराका महेन्द्र थापाले भने।

दिन बिस्तारै ढल्दै थियो। साँझतिर लेकसाइडमा पर्यटक बढ्दै गए। फेवातालबाहिर किनारामा चक्कर लगाउन गोधूलि साँझमा आन्तरिक पर्यटकहरू देखिए। गोरा विदेशी पर्यटकहरू पनि सडकका होटेल र बाटोमा छरिए। तैपनि, पहिला झैँ चहलपहल देखिएन।

साँझ, रातमा बदलिँदै थियो। रात परेपछि लेकसाइड प्रकृतिसँग अझ बढी झुम्न थाल्नु पोखराको विशेषता हो। धेरै परसम्मका झिलिमिलीले रङ्गिन देखिनु पोखराको रौनक हो। तर, त्यो देखिएन।

किनारामा डुङ्गाहरू शान्त बसिरहेका थिए। तालको बीचमै उज्यालो बालेर बसिरहेको तालबाराही मन्दिरबाट उज्यालो खासै परसम्म फैलिएको देखिँदैनथ्यो। तुवाँलोले छोपेकाले धेरै पर झिलिमिली पुग्न सकेन।

फेवा किनारामा मान्छेहरू यताउता गरिरहेका देखिन्थे। बार र रेस्टुरेन्टमा पहिलेजस्तो विश्वका धेरै भाषाहरूका मानिसका गुनगुन सुनिँदैनथ्यो। बार र रेस्टुरेन्टका डाइनिङ टेबल आंशिक मात्रै भरिएका थिए। कोही कफी गफ गरिरहेका, कोही ह्विस्की, बियरमा रमिरहेका त कोही हुक्का र ‘भेप’को धुवाँ तुवाँलो सरी उडाइरहेका थिए।

पर्यटकको भारी बोकेर पदयात्रामा जान भ्याईनभ्याई हुनुपर्ने वेला काम नपाएपछि पर्यटनका सहयोगीहरू फुर्सदिला देखिन्थे। “सिजनमै काम नपाएपछि केही साथीहरू घर गएका छन्” टुर गाइडको काम गर्दै आएका गोरखाका हरि कुमार तामाङले बताए।

कोरोनाभाइरस महामारीका कारण विदेशी पर्यटक नआउँदा केही वर्षअघि सुनसान बनेको पोखरामा अहिले फेरि सन्नाटा छाएको छ। अहिले सिजनको समय मानिन्छ। यति बेला स्वदेशी र विदेशी पर्यटकले भरिभराउ हुनुपर्नेमा व्यवसायीहरू आंशिक भरथेग गरेर व्यवसाय धानिरहेका छन्।

के हो समस्याको चुरो कुरो ?

२०७७ पछिल्ला डेढ दुई वर्ष पोखराको सुनसान बन्यो। लामो समयको बन्दाबन्दीमा घरैमा बसेकाहरू घुम्न निस्कन पाएनन्। पोखराले उनीहरूलाई स्वागत गर्न पाएन।

गत १ माघमा पोखरामा विमान दुर्घटना भएपछि फेरि पर्यटक घटे। ठूलो मानवीय क्षति भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई केही समय आकाशको यात्रा गर्न त्रास भयो। पछि बिस्तारै चहलपहल बढ्दै थियो। अहिले अहिले मौसमको कारण पोखरा पर्यटनलाई धक्का लागेको छ।

गत चैतको अन्तिम साता देखिनै पोखराको मौसम सफा छैन। बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी घटेको छ। भिजिबिलिटी घटेपछि उडान नियमित हुन सकेको छैन। कतिपय दिनमा त एउटै पनि जहाज अवतरण हुन सकेन। अहिले प्राय साढे तीन बजेपछि मात्रै जहाज उडान अवतरण भइरहेको छ।


जसकारण धेरै फ्लाइटहरू रद्ध हुँदा पर्यटक पोखरा जान सकेका छैनन्। स्थलमार्गबाट जान पनि कहाँ सजिलो छ र? पृथ्वी राजमार्ग अन्तरगत मुस्लिन पोखरा सडकखन्डमा पर्ने तनहुँमा सडक स्तरउन्नतीको काम भइरहेको छ।सडक कच्ची र धुलाम्मे हुँदा यात्रा गर्न अफ्ठेरो छ। त्यो बाटो पार गर्न समय पनि धेरै लाग्छ।

पोखराको पर्यटनलाई नजिकबाट नियाल्दै गरेका डोलेन्द्र शर्माले भने, ‘‘तुवाँलोले ढाकेकाले जमिनबाट आकाश र आकाशबाट तल पोखराको दृश्य देखिँदैन। प्याराग्लाइडिङ गर्नेहरू देखिँदैनन्। सुर्यदयाेको दृश्य हेर्न साराङकोट पुग्नेहरू कम भएका छन्। माछापुच्छ्रे देखिने त कुरै भएन। यसैले पर्यटकको चहलपहल कम छ।’’

बाक्लो तुवाँलोले सुस्तायो पर्यटन

अहिले वायुमण्डलमा धुलोका कणहरू रहँदा पोखरा प्रदूषित बनेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयका मौसमविद् मीनकुमार अर्यालले सुनाए। उनले भने, ‘‘पानी परेन, हावा चलेन, त्यसले गर्दा पोखरा धुम्म परेको हो।’’

चैत–वैशाख जङ्गलमा डढेलो लगाउने समय भएको र यो बेला धेरैतिर डढेलो लाग्दा पनि वायुमण्डल बढी प्रदूषित भएको हुनसक्ने उनले बताए।

तापक्रम बढेसँगै यहाँ तुवाँलोले ढाक्न थालेको थियो। वर्षा रोकिएपछि तुवाँलोले आकाश ढाकेको हो। मौसमविद्ले अझै केही दिन पोखराको तुवाँलो हट्ने अवस्था नरहेको बताएका छन्। तत्काल कुनै मौसमी प्रणाली विकसित भइहाल्ने अवस्था नरहेकोले तुवाँलो हट्न समय लाग्ने उनीहरूको भनाइ छ।

उडान-अवतरण प्रभावित

गत अङ्ग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नयाँ वर्ष आइपुग्दासमेत बाह्य उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराको पर्यटनमा भएको लगानी नै जोखिममा परेको चिन्ता व्यवसायीले व्यक्त गरेका छन्। पर्यटक बढ्न थालेका बेला अन्तर्राष्ट्रिय उडान भइदिए त्यसले थप सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ।

हवाई उडान प्रभावित हुँदा स्वदेशी तथा विदेशी पर्यटक सहज रूपमा पोखरा जान पाएका छैनन्। नेपाली नयाँवर्ष मनाउन आउने तयारीमा रहेका पाहुना बेलैमा पोखरा आउन नसक्दा होटेलका कोठा रित्तै रहे। नयाँवर्ष पछि पनि दिनहुँजसो होटेलको कोठाको बुकिङ रद्द हुने क्रम चलिरहेको छ। अझै कति दिनसम्म यस्तै नोक्सान खेप्नुपर्ने भन्ने निश्चित नभएको व्यवसायी बताउँछन्।

स्थलमार्ग झन्झटिलो हुँदा धेरै आन्तरिक पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहन्छन्। उडान नहुँदा यात्रु अलपत्र परेको, घुम्न निस्कनै नपाई घर फर्किनुपरेको व्यासायीहरु बताउँछन्। कुटी रिर्साेटका मार्केटिङ म्यानेजर ईश्वर पौडेल भन्छन्, ‘‘कोठा बुकिङ गरेका ग्राहकहरू बेलैमा पोखरा आउन सकेनन्, केहीले रद्ध गरे। केहीले बसाई छोट्ट्याए। त्यसले गर्दा होटेलका कोठा नै रित्तै रहे।’’

पोखराको पर्यटन अर्थतन्त्रमा धक्का

जलवायुजन्य प्रकोपका कारण पोखराको पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएका जानकारहरू बताउँछन्। बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।

उनले भने, ‘‘प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भए पनि ३८ सय मिटर भिजिबिलिटी चाहिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भिएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँच हजार मिटर भिजिबिलिटी चाहिन्थ्यो।

पछिल्लो साता अपराह्नतिर मौसम केही खुलेपछि जहाज उडान अवतरण भइरहेका छन्।’’

तस्वीरहरू- सरोज बस्नेत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved