बाबुरामलाई देउवाको पत्र : ‘गठबन्धनलाई राष्ट्रियस्तरमा अझै कसिलो बनाउन अघि बढौं’

नेपालभ्युज

बाबुरामलाई देउवाको पत्र : ‘गठबन्धनलाई राष्ट्रियस्तरमा अझै कसिलो बनाउन अघि बढौं’

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई राष्ट्रिय स्तरमा अझै कसिलो बनाउन अघि बढौं भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई अनुरोध गरेका छन्।

सभापति देउवाले भट्टराईलाई पत्र लेखेरै उक्त अनुरोध गरेका हुन्। ‘निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध’ शिर्षकमा पत्र लेख्दै देउवाले गरेको अनुरोधलाई भट्टराई नेतृत्वको नेसपाले पनि सकारात्मक भन्दै सघाउने भएको छ।

पत्रमा भनिएको छ–‘उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएर गठबन्धनलाई राष्ट्रिय स्तरमा अझै कसिलो बनाएर अघि बढ्नुछ। अतः तपाईंको नेतृत्वको पार्टी पंक्तिलाई अझ व्यापक परिचालन गरि गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन साथीहरूलाई आवश्यक निर्देशन र परिचालनका लागि हार्दिक अनुरोध गर्दछु।’

तनहुँ र चितवनमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेताहरू गोविन्द भट्टराई र जितनारायण श्रेष्ठको पक्षमा मत मागिदिन देउवाले पत्रमार्फत गरेको आग्रहलाई नेसपाले सकारात्मक रूपमा लिएको नेसपाका एक नेताले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा मंगलबार बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पनि नेपाली कांग्रेसका सभापति देउवाद्वारा प्रेषित पत्रमाथि छलफल गरी उपनिर्वाचनमा चितवन–१ र तनहुँ–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ।

उता बारा २ मा भने गठबन्धनभित्रैबाट एकभन्दा बढी उमेद्वार भएकाले त्यहाॅको सापेक्षता अनुसार गठबन्धनभित्रका उमेद्वारबाटै प्रदेशले नै आवस्यक निर्णय गर्न सक्ने सो पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved