उपचुनाव : दलहरुको लोकप्रियता नाप्ने ‘ब्यारोमिटर’, कसले जिते के अर्थ लाग्छ ?

पछिल्लो समय चर्चामा रहेका राष्ट्रिय मुद्दाहरू मूलतः गठबन्धन परिवर्तन, राजनीतिक अस्थिरता र आर्थिक संकटलाई मतदाताले कसरी लिएका भन्ने परिक्षण समेत यो उपनिर्वाचनले गर्ने छ। तनहुँ–१ र चितवन–२ मा कांग्रेस तथा बारा–२ मा जसपाले जितेमा यी सवालले मतदातालाई प्रभावित नगरेको अर्थ लाग्नेछ । तर परिणाम फरक आयो भने त्यसको अर्थ यस्तो हुनेछ…

उपचुनाव : दलहरुको लोकप्रियता नाप्ने ‘ब्यारोमिटर’, कसले जिते के अर्थ लाग्छ ?

काठमाडौं। मंसिरमा आम निर्वाचन सम्पन्न भएयता ६ महिना नबित्दै वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ गरी ३ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र थियो भने बारा–२ उपराष्ट्रपति रामसहायप्रसाद यादवको । उनीहरू राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी निर्वाचन क्षेत्र खाली भएका हुन् । तर, चितवन–२ मा उपनिर्वाचन हुनुको कारण भने फरक छ। त्यहाँ पुनश्च: रास्वपा अध्यक्ष रवि लामिछाने उम्मेदवार छन्, जसको नागरिकता विवादको कारणले उपचुनाव गर्नुपरेको हो।

उपचुनावलाई आम चुनावपछिको निश्चित समय अवधिमा मतदाताको मनस्थिति बदलिएको छ कि छैन भनेर जाँच्ने ब्यारोमिटर मानिन्छ । उपचुनावले सामान्यतः राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन र संसदभित्रको गणितमा उल्लेखनीय परिवर्तन ल्याउँदैन। यसपटक ३ स्थानमा हुन गइरहेको उपनिर्वाचनले पनि त्यसो गर्ने छैन । तर, मतदाताको मनस्थिति बद्लिएको छ वा छैन भनेर बुझ्न भने यो एक राम्रो माध्यम हो ।

तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले नै चुनाव जिते भने मतदाताको मनस्थितिमा कुनै परिवर्तन आएको छैन भन्ने बुझिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको विरासतलाई मतदाताले स्वीकार गरे भन्ने बुझिन्छ । कांग्रेस उम्मेदवार भट्टराई पराजित भए भने त्यसका धेरैवटा अर्थ हुनेछन् ।

जस्तो कि, कांग्रेस पराजित भए कसले जित्ला ? एमालेले, रास्वपाका स्वर्णिम वाग्लेले वा अरु कसैले ? कांग्रेसबाहेक जसले जिते पनि त्यसको फरक-फरक अर्थ हुन्छ । मानौं कि, एमाले उम्मेदवार सर्वेन्द्र खनालले जिते, मतदाताले पुराना दुई ठूला पार्टीमध्ये कुनै एकलाई रोजे, कांग्रेसलाई छोडे, एमालेलाई मौका दिए भन्ने हुन्छ।

मानौं कि, रास्वपाका स्वर्णिम वाग्लेले जिते त्यसले नयाँ दलका रूपमा रास्वपाको क्रेज बढ्दै गएको अर्थ दिनेछ । दुई ठूला पुराना दल एमाले र कांग्रेस दुवैलाई मतदाताले मन नपराएको, अझ कांग्रेसप्रति जनवितृष्णा बढेको अर्थ लाग्नेछ।

चितवन–२ को चुनाव परिणामले भने रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेको राजनीतिक भविष्य र यस बीचका कर्मको परिक्षण गर्नेछ । मंसिरमा भारी मत अन्तरले जितेका लामिछानेको मत घट्छ कि घट्दैन भन्ने कुराको पनि अर्थ हुनेछ।

रवि लामिछानेले पुन: भारी मतान्तरले जिते भने उनको नागरिकता विवाद, सरकारमा जाने, छोड्ने र फेरि विश्वासको मत दिने निर्णयलाई मतदाताले मनपराए वा त्यसका बाबजुद पनि उनलाई क्षमादान दिए भन्ने अर्थ लाग्नेछ । यदि, लामिछाने पराजित भए भने उनका यी क्रियाकलाप मतदाताले मनपराएनन् भन्ने पुष्टि हुन्छ।

मंसिरको चुनावमा ‘नो नट अगेन, बाहरू घरमै बस’ भन्ने नारा दिएको रास्वपा सरकारमा जानु वा पुरानै पार्टीका नेताको सरकारलाई विश्वासको मत दिनु उचित हो कि हैन, मतदातालाई के लागेको छ ? भन्ने प्रश्नको समेत परीक्षण हुनेछ।

अर्कोतिर, मंसिरको चुनावमा चितवन–२ मा आँधी आएको र त्यो आँधी अब रोकिने र मतदाता पुरानै पार्टीमा फर्किने कांग्रेस, एमालेको अपेक्षा छ । कांग्रेस, एमालेको यो दाबी वा अपेक्षा पूरा हुन्छ कि हुँदैन, रास्वपा एक स्थिर पार्टी सावित हुन्छ कि आँधी मात्रै, त्यसको समेत परीक्षण हुनेछ । यस मानेमा चितवन–२ को उपचुनाव तनहुँ–१ को भन्दा बढी अर्थपूर्ण छ । किनकि, यसको परिणामले कुनै एउटा प्रश्नको मात्र नभएर धेरै वटा प्रश्नको एक साथ उत्तर दिनुपर्नेछ ।

बारा-२ को उपचुनावले भने तनहुँ–१ र चितवन–२ का अतिरक्त केही थप प्रश्नको सामना गर्नुपर्नेछ । त्यसले मूलतः जसपा अध्यक्ष उपेन्द्र यादवको राजनीतिक भविष्य र वर्तमान सत्तारुढ गठबन्धनभित्रका दलहरूको आह्वान जनस्तरमा प्रभावकारी हुन्छ कि हुँदैन भन्ने परीक्षण गर्नेछ।

सामान्य दृष्टिकोणबाट हेर्दा बारा–२ मा जसपाले जितेको थियो, फेरि जसपाले नै जित्यो भने कुनै अनौठो हुँदैन । तर, त्यतिखेर जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव एमालेसँगको तालेमलमा थिए । अहिले एमालेले भिन्नै पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ भने उपेन्द्र यादव विपरित गठबन्धनमा छन् ।

उपेन्द्रले जिते जसपा सुरक्षित हुनेछ र त्यसको अध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा यादवको भूमिका कायमै रहने छ । पराजित भए भने जसपा र अध्यक्ष यादव मात्र हैन, अहिलेको सत्तारुढ गठबन्धनको आह्वानलाई मतदाताले साथ नदिएको अर्थ लाग्नेछ । स्वयं कांग्रेसले दिएको समर्थनसमेत अर्थहीन हुनेछ र कांग्रेससमेत कमजोर हुँदै गएको अर्थ लाग्नेछ ।

मानौं कि, उपेन्द्र यादव पराजित भए, कसले जित्छ भन्ने कुरा तनहुँ–१ कै जस्तो अर्थ लाग्नेछ । एमालेले जिते मतदाता पुरानै दलतिर फर्किएको, जनमत, नागरिक उन्मुक्ति वा रास्वपाका उम्मेदवारमध्ये कसैले जिते नयाँ विकल्पको खोजी भएको अर्थ लाग्नेछ ।

यी ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिएर माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले भने आफूलाई कमजोर र आत्मविश्वास गुमाएका दल भएको सन्देश दिएका छन् । यो सन्देश उनीहरूको दीर्घकालीन राजनीतिक भविष्यका लागि घातक हुन सक्दछ ।

यसका अतिरिक्त पछिल्लो समय चर्चामा रहेका राष्ट्रिय मुद्दाहरू मूलतः गठबन्धन परिवर्तन, राजनीतिक अस्थिरता र आर्थिक संकटलाई मतदाताले कसरी लिएका भन्ने परिक्षण समेत यो उपनिर्वाचनले गर्ने छ। तनहुँ–१ र चितवन-२मा कांग्रेस तथा बारा–२ मा जसपाले जितेमा यी सवालले मतदातालाई प्रभावित नगरेको अर्थ लाग्नेछ।

एमाले उम्मेदवारले जितेमा अहिलेको सत्तापक्षीय गठबन्धनसँग असन्तुष्ट भई मतदाताले प्रमुख विपक्षी दललाई विकल्प मान्न थालेको अर्थ लाग्नेछ भने रास्वपा वा अन्य दलका उम्मेदवारले जितेमा मतदाता गठबन्धन परिवर्तन, राजनीतिक अस्थिरता र आर्थिक संकटको कारणले निराश छन् र नयाँ विकल्पको खोजी गर्दैछन् भन्ने अर्थ दिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved