के गगन-विश्वप्रकाशका चर्का भाषणले मात्र कांग्रेस जोगिएला ?

कांग्रेसको भविष्यका रूपमा हेरिएका थापा र शर्माले विषम अवस्थामा पार्टीको प्रतिरक्षा गर्नु राजनीतिमा अस्वभाविक हैन । तर, प्रश्न फेरि पनि जहाँको तहीँ रहन्छ । के महामन्त्रीद्वय थापा र शर्माको आक्रामक भाषणले मात्र कांग्रेसका असक्षमता छोपिन्छन् ?

के गगन-विश्वप्रकाशका चर्का भाषणले मात्र कांग्रेस जोगिएला ?

काठमाडौं। नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका अर्थविज्ञ डा. स्वर्णिम वाग्लेले दाबी गरे– ‘रास्वपा असन्तुष्ट कांग्रेसीका लागि उचित राजनीतिक विकल्प हो।’ अझ एक कदमअघि बढेर उनले पार्टीका अध्यक्ष रवि लामिछानेको जाँगरलाई २०१५ सालको आम चुनावको बेलाका बीपी कोइरालासँग तुलना गरिदिए।

वाग्लेको यस्तो प्रतिक्रियाले नेपाली कांग्रेसलाई एकाएक प्रतिरक्षात्मक बनाइदियो । र त्यो प्रतिरक्षा युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका आक्रामक भाषणमार्फत अभिव्यक्त भयो ।

कांग्रेसीको लामो समयदेखिको गुनासो थियो– नेपाली कांग्रेस जतिसुकै असक्षम र नालायक किन नहोस्, यसको नेतृत्वपंक्तिले हजार गल्ती किन नगरोस्, असन्तुष्ट कांग्रेसी कार्यकर्ता र मतदाताका लागि अर्को विकल्प नै छैन । कांग्रेस छोडेर कहाँ जाने ? रूख छोडेर कहाँ भोट दिने ? अर्को वैकल्पिक लोकतान्त्रिक दल कुन छ र देशमा ?

कांग्रेसीहरू आफूलाई उदार संसदीय लोकतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक समाजवादी विचारधाराका पक्षधर मान्दछन् । यो कुरा साँचो हो कि यो विचारधाराको अर्को बलियो पार्टी देशमा थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यस्तो पार्टी हो कि हैन ? अझ अस्पष्ट छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विचारधारा, दृष्टिकोण र एजेन्डालाई अझै प्रष्ट पारेको छैन । सबै वैचारिक धारका मतदातालाई आकर्षित गर्दै ‘ग्रे–लाइन’मै हिँडिरहेको छ ।

कांग्रेसीहरू हत्पत्ति ‘कम्युनिस्ट’ वा ‘राजावादी’ हुन चाहँदैनन् । ‘कम्युनिस्ट’ भन्दा उनीहरूले सन् १९९० अघिको शीतयुद्धकालीन एकदलीय राज्य प्रणालीलाई बुझ्दछन्, भलै कि नेपालका कम्युनिस्टले आफूलाई ‘बहुदलीय जनवादी’ दाबी किन नगरून् । उदार लोकतान्त्रिक सोचमा विश्वास गर्नेले राजतन्त्रवादी विचार र पार्टीलाई विकल्प नमान्नु त स्वाभाविक नै हो ।

कम्युनिस्ट कार्यकर्ता र समर्थकका लागि धेरै विकल्प थिए र छन् । अहिले पनि देशमा दर्जनौं कम्युनिस्ट पार्टी र समूह छन्, कुनै एउटा मन नपरे अर्कोमा जाने सुविधा उनीहरूलाई छ । ती मध्ये एमाले र माओवादी दुई ठूला कम्युनिस्ट पार्टी नै छन् । तर, कांग्रेसीहरूका लागि त्यस्तो सहज र बलियो विकल्प थिएन ।

२०७० को दशकमा विवेकशील र साझा पार्टी बन्दा शहरिया मध्यम वर्गका युवायुवतीको आकर्षण ती दलतिर थियो । मूलतः कांग्रेस पृष्ठभूमि र परिवारका पढेलेखेका आधुनिक युवायुवती विवेकशील र साझा पार्टीतिर आकर्षित भएका थिए । तर, ती दलको नेतृत्वपंक्तिले त्यो आकर्षणलाई धेरै दिन थाम्न सकेन । यसका नेता रवीन्द्र मिश्र आफैँ वैचारिक पलायन भएर राजावादी दल राप्रपाका प्रवेश गरे । विवेकशील साझाको अध्याय बन्द भएजस्तो देखियो ।

त्यसो त डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी खोल्दा समेत उदार लोकतान्त्रिक धारको एउटा हिस्साले रुचि देखाएको थियो । तर, त्यो दल पछि आफैँ समाप्त भएर गयो । विवेकशील, साझा र नयाँ शक्तिले निर्माण गरेको जनमत र रिक्ततामा राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ बनायो । अब कांग्रेसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक लोकतान्त्रिक विकल्पका रूपमा लिन चाहेको देखिन्छ ।

डा. स्वर्णिम वाग्लेको रास्वपा प्रवेशपछि यो क्रम अझ बढ्न सक्नेछ । सम्भवत: यही सम्भावनाका कारण कांग्रेसको नेतृत्वपंक्ति आत्तिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गुटबन्दी, पक्षपात र अव्यवस्थित कार्यशैलीका कारण धेरै कांग्रेस समर्थक निरास छन् । कांग्रेस निकट राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका दृष्टिकोणमा ‘वाग्लेको रास्वपा प्रवेश कांग्रेसका लागि ठूलो चुनौती हो, यसको चिन्ता सबैभन्दा बढी सभापति देउवालाई हुनपर्ने हो, तर भएजस्तो छैन ।’

देउवापछिको कांग्रेसको मुख्य नेतृत्वपंक्ति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिप्रति नयाँ पुस्तामा खासै आकर्षण देखिन्न । यी नेताहरू पार्टीको उच्च पदमा त छन् तर समसामयिक सार्वजनिक विमर्शमा खासै बलियो स्थान बनाएका छैनन् । यिनीहरूको कुरा सुन्ने र महत्त्व दिने पंक्ति देशमा त्यति धेरै देखिन्न ।

संस्थापनसँग असन्तुष्टहरू देउवाभन्दा बढी देउवापत्नी आरजू राणाप्रति नकारात्मक देखिन्छन् । कतिपय कांग्रेसीहरू उनलाई खुलेरै ‘करप्ट लेडी’ भन्ने गर्दछन् । सभ्रान्त राणा परिवारबाट आएकी, लोकतान्त्रिक आन्दोलनमा खासै भूमिका र योगदान नभएकी आरजू राणाको बढ्दो शक्तिको आधार भने मुख्यत: देउवा नै हुन् ।

पार्टी परित्याग गर्दा डा. स्वर्णिम वाग्लेले कांग्रेसलाई ‘दाइ, भाउजू, साला र भतिजको असक्षम गिरोह’ भन्दिए । यसले देउवा–आरजूलाई कति धेरै ‘इगो हर्ट’ गर्‍यो होला, सहजै अनुमान गर्न सकिन्छ । तर, यो उनीहरूको व्यक्तिगत अहंमा चोट लाग्ने बिषय मात्र नभएर कांग्रेसको भविष्यसँग पनि जोडिएको कुरा हो । ‘देउवा–आरजू’ कार्यशैलीले कांग्रेसको छवि निरन्तर धुमिल, संगठन कमजोर, जनमत खस्किदो छ ।

यस्तै, हो भने नेपाली कांग्रेस पनि विस्तारै भारतीय राष्ट्रिय कांग्रेस हुन सक्ने चिन्ता पुराना कांग्रेसीमा छाएको छ । कांग्रेस परिवारमै हुर्किएका मध्यम वर्गीय शहरिया युवायुवति र मतदाताले समेत कांग्रेसमा आफ्नो र देशको भविष्य देख्न छोडेका छन् । तर, कांग्रेसको संस्थापन पक्ष भने यो कुरा मान्न तयार छैन । पार्टीभित्रको गुटबन्दीका कारणले कांग्रेसभित्रकै एउटा पक्षले यस्तो हल्ला चलाएको उनीहरूको आरोप छ ।

कुनै समय देउवा कांग्रेसभित्र इतर पक्षका नेता थिए । कोइराला परिवार संस्थापन रहुन्जेल उनले असन्तुष्टलाई एक बनाउँदै गए । यहाँसम्म कि उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग सभापतिको चुनाव लडे । कांग्रेस फुटाएर ‘प्रजातान्त्रिक कांग्रेस’समेत गठन गरे । देउवा पक्षको बुझाइ हुन्छ– उनी कसैको निगाह, कृपा र आशीर्वादले नेतृत्वमा आएका हैनन् । तसर्थ उनको ‘रिस गर्नु’ मात्र उचित र पर्याप्त छैन ।

कोइराला परिवारका तीन सदस्यहरू अहिले पनि सक्रिय राजनीतिमा छन्– शेखर, शशांक र सुजाता कोइराला । यिनीहरू न आपसमा मिल्न नै सके र एक्लाएक्लै रहेर पार्टी नेतृत्व देउवाबाट खोस्न नै । यी तीनपछि भने कोइराला परिवारको कुनै सदस्य कांग्रेस राजनीतिमा प्रभावशाली ढंगले देखिएको छैन । सम्भावित मानिएकी अभिनेतृ मनिषा कोइराला राप्रपातिर खुलेपछि यो सम्भावना सकिएको छ ।

सायद कांग्रेसको भावी नेतृत्व अब न कोइराला परिवारमा न देउवा गुटको उत्तराधिकार मै रहन सक्ने छ । तसर्थ, देउवापछिको नेतृत्व कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको पुस्ताबाट आउन सक्ने अनुमान गरिँदैछ । तर, कतिपयको आंशका छ– देउवाको कार्यकालभित्रै कांग्रेस धेरै कमजोर हुन सक्दछ । त्यतिखेर गगन, विश्वप्रकाश वा अन्य कोही युवा नेतृत्वमा आए पनि कांग्रेसको पुनर्सबलीकरण त्यति सजिलो हुने छैन ।

पछिल्लो चुनावमा कांग्रेस २५.७१ प्रतिशत भोटमा सीमित भएको छ । कांग्रेसले इतिहासकै सर्वाधिक कम भोट ल्याएको यो दोस्रोपटक हो । २०६४ को पहिलो संविधानसभामा कांग्रेसले २१.१४ प्रतिशत मात्रै भोट ल्याएको थियो । यसले के पुष्टि गर्दछ भने कांग्रेसलको कट्टर पार्टी भोट २० प्रतिशतको हाराहारी छ । बाँकी उसले ‘स्विङ भोट’ बाट ‘मेकअप’ गर्ने गरेको थियो । यस्तो अस्थिर भोटमा रास्वपाको प्रवेशपछि कांग्रेस कमजोर हुनु स्वभाविक नै हो ।

सायद यही बुझेर हुन सक्दछ– कांग्रेसले युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई उपुचनावको कमान्ड दिएको छ । उपचुनावको उम्मेद्वारी नामांकनका लागि तनहुँ पुगेका थापा र चितवन पुगेका शर्माले रास्वपाका रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलविरुद्ध आक्रामक भाषण गरेका छन् । उनीहरूले रास्वपाले जनवितृष्णामा खेल्ने र पदका लागि अधैर्यताको राजनीति गरेको अरोप लगाएका छन् ।

कांग्रेसको भविष्यका रूपमा हेरिएका थापा र शर्माले विषम अवस्थामा पार्टीको प्रतिरक्षा गर्नु राजनीतिमा अस्वभाविक हैन । तर, प्रश्न फेरि पनि जहाँको तहीँ रहन्छ । के महामन्त्रीद्वय थापा र शर्माको आक्रामक भाषणले मात्र कांग्रेसका असक्षमता छोपिन्छन् ? देउवा–आरजू गिरोहको आरोपबाट कांग्रेस जोगिन्छ ? देश र जनताको बद्लिँदो आकांक्षा र चाहनाको परिपूर्ति हुन्छ ? सुशासन र समृद्धि सम्भव हुन्छ ?

रास्वपा र रवि लामिछाने त सायद यतिखेर निमित्त पात्र मात्रै हुन् । जनता र मतदाताले खोजेको बद्लाव हो । बद्लावको आकांक्षा रास्वपा र रविले पूरा गर्न नसके फेरि अर्को कोही नयाँ आउँला । थापा–शर्माको आक्रामक भाषणले मात्र त्यो आकांक्षाको परिपूर्ति हुन सक्दैन ।

कांग्रेस अस्तित्व संकटको जोखिमबाट जोगिन चाहन्छ भने न ‘देउवा–आरजू गिरोह’को कार्यशैली र गुट व्यवस्थापन पर्याप्त छ न त थापा–शर्माको आक्रामक भाषण । त्यसका लागि त कांग्रेसले बद्लिएको जनआकांक्षालाई परिपूर्ति गर्न सक्नेगरी सर्वप्रथम आफैँलाई परिवर्तन गर्नुपर्ने हुन्छ । कांग्रेसमा यस्तो तत्परता, जाँगर, योजना र इच्छाशक्ति भने अहिलेसम्म देखिएका छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved