पशुपति विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराती

नेपालभ्युज

पशुपति विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्दा रहेछन् : मन्त्री किराती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाइ थियो ।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए । त्यहाँ जाने दर्शनार्थीहरूले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि ट्वाइलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाइ भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको, तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए ।

मन्त्री किरातीले भने, ‘आज म धेरै नै फोहोरमा पसेको छु । साथीहरूले डाँडाडाँडा सफा गरेर हिँड्थ्यो । प्लास्टिक मात्रै भेटिन्थ्यो । आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु । हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भइसकेपछि गाडीबाट तल नझर्ने । कर्मचारी सीमित जागिर मात्रै खाने हो भन्ने ठान्ने । विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । पर्यटनको पहिलो आधार भनेकै सरसफाइ हो । जहाँ हामी सफाइ नै गर्दैनौं । धेरै मानिसहरूले आज मलाई ट्वाइलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैं ट्वाइलेट खोजी हिँडदै थिए । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ ।’

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved