स्वर्णिम वाग्लेको कांग्रेस परित्याग : देउवा–आरजुको अपमान कि टिकट मोह ?

राजनीति यदि विचार र निष्ठाका लागि गरिएको हो भने चुनावको टिकट मात्रै राजनीतिक निर्णयका लागि अन्तिम आधार हैन । गुटका केही चाकडीबाजले बाहेक नेताको अपमान र पक्षपात सहनु नपरेका यो देशमा को राजनीतिक कार्यकर्ता होलान् ?

स्वर्णिम वाग्लेको कांग्रेस परित्याग : देउवा–आरजुको अपमान कि टिकट मोह ?

काठमाडौं। अर्थविद स्वर्णिम वाग्ले देशको ‘बुढो पुरानो पार्टी’ नेपाली कांग्रेस परित्याग गरेपछि यतिखेर विशेष चर्चामा छन् । स्वयं वाग्लेका शब्दमा कांग्रेससँग उनको सम्बन्ध ‘तीन पुस्तादेखिको पारिवारिक’ थियो । वि.सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ सालको जनान्दोलनदेखि कांग्रेसमा उनको संलग्नता थियो ।

गत चुनावमा उनी गोरखा, चितवन वा काठमाडौंका कुनै निर्वाचन क्षेत्रबाट टिकटका आकांक्षी थिए । चितवन–१ मा अन्तिम उनी अन्तिम समयसम्म पनि टिकटका आकांक्षी तथा प्रतिस्पर्धी रहे । पार्टी नेतृत्वले वाग्लेको साटो अर्का अर्थशास्त्री विश्वनाथ पौडेललाई टिकट दिएको थियो । भलै डा. विश्वनाथ पौडेलसमेत त्यहाँ पराजित भए । चितवनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चल्यो । लहर यति बलियो थियो कि पौडेलका ठाउँमा वाग्ले उम्मेदवार हुँदा पनि जित्ने सम्भावना कमै थियो ।

वाग्लेलाई पार्टी नेतृत्वले टिकट दिन नचाहेको भने प्रष्टै बुझिन्छ । यदि, चाहन्थ्यो त गोरखा र चितवनमा नसके पनि १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा कुनै न कुनैबाट दिन सक्थ्यो । काठमाडौंमा भने जुनकुनै निर्वाचन क्षेत्रमा वाग्लेको चुनाव जित्ने सम्भावना हुन्थ्यो ।

देउवाले वाग्लेलाई टिकट दिन नचाहनुमा आरजु मुख्य तगारो थिइन् भन्ने सायद उनको बुझाइ हो । त्यसैले उनले कांग्रेस छाड्दा लेखेको नोटमा ‘दाइ–भाउजू’ प्रयोग गरेका हुन् । ‘देउवा–आरजुको अपमान खपेर नबस्ने’ निर्णयमा पुगेका हुन् । तर, वाग्लेका लागि यो कुनै नयाँ कुरा त थिएन ।

अहिले वाग्लेले पार्टी परित्याग गर्नुपर्ने स्थिति किन आयो त ? यसको दोष उनले पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाको कार्यशैलीमाथि लगाएका छन् । यसबारे उनको भनाइ छ–‘पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था छ ।जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्णं शमशेर किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजको असक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

स्मरणीय कुरा के छ भने यो भनाइमा उनले ‘पछिल्ला केही वर्षहरू’ देखि कांग्रेसका गतिविधि शिर निहुराउने खालका भएको बताएका छन् । तर, ती गतिविधि के-के, कुन-कुन् हुन् प्रष्ट पारेका छैनन् । यसर्थ, यहाँनेर यो प्रश्न उठ्दछ कि, त्यसो भए यतिका वर्षदेखि उनले कांग्रेसको प्रतिरक्षा किन गर्दै आएका थिए ? गत चुनावमा उनी नेपाली कांग्रेसको चुनावी घोषणापत्र मस्यौदा समितिको संयोजक थिए ।

वाग्लेको पार्टी परित्याग एक साहसिक राजनीतिक विद्रोह कि टिकट मोह यो प्रश्न भने अझै बाँकी रहन्छ । यदि, उनले कांग्रेससँग राजनीतिक विद्रोह नै गर्न चाहेका थिए भने यतिका पर्षसम्म किन ‘मौन र टिकट कुर्दै’ बसे ? अहिलेको उनको पार्टी परित्याग पनि कांग्रेससँगका राजनीतिक तथा कार्यशैलीगत विमतिका कारणले हो कि तनहुँ–१ को टिकटको लागि हो ? यो प्रश्नको सामना उनले गर्नै पर्छ ।

नेपालका बौद्धिक भनिएका नेताको आत्मकुण्ठा र टिकट मोह बढो विचित्रको देखिने गरेको छ । कम्युनिस्ट वृत्तमा ‘बौद्धिक नेता’ मानिएका घनश्याम भुसालले ठीक यस्तै चरित्र देखाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनलाई प्रतिगमन भन्दै उनले संसद पुनर्स्थापनाका लागि हस्ताक्षर दिएका थिए । तर, पछि उनी आफैँ ओलीको पक्षमा उभिएर माधव नेपाललगायतलाई गाली गर्न थाले ।

पार्टी विभाजित हुँदा एकीकृत समाजावादीको पक्षमा उभिने साहस गर्न सकेनन् । तर, जब ओलीले रुपन्देही– १ को टिकट दिएनन् उनी एमाले परित्याग गरी स्वतन्त्र उम्मेद्वार भए । चुनावमा पराजित भएपछि फेरि त्यही माधव नेपालको पार्टीमा प्रवेश गरेर बिना महाधिवेशन महासचिव भएका छन् ।

अहिले पनि मान्छेको मनमा यो प्रश्न छ– भुसालको मार्क्सवादी बौद्धिकता कस्तो हो ? ठीक यही प्रश्न स्वार्णिम वाग्लेमाथि पनि उठ्ने छ । वाग्लेको विज्ञता कस्तो हो ? पार्टी भित्रभित्रै शिर निहुराउनुपर्ने भइसक्दा पनि जनतालाई सुसूचित गर्ने आँट नहुने, टिकट नपाएपछि भने पार्टी परित्याग गर्ने ? तुरुन्तै अर्को पार्टी प्रवेश गर्ने र टिकट पड्काइहाल्ने ?

राजनीति यदि विचार र निष्ठाका लागि गरिएको हो भने चुनावको टिकट मात्रै राजनीतिक निर्णयका लागि अन्तिम आधार हैन । गुटका केही चाकडीबाजले बाहेक नेताको अपमान र पक्षपात सहनु नपरेका यो देशमा को राजनीतिक कार्यकर्ता होलान ?

‘तीनपुस्ते सम्बन्ध’ भएको पार्टी छोड्न हुँदैन भन्ने हैन । लोकतन्त्रमा पार्टी छोड्ने र प्रवेश गर्नु नागरिकको सार्वभौम अधिकार हो । तर, यो अधिकार कसैले कस्तो समयमा र किन प्रयोग गर्दैछ भन्ने कुराको पनि उत्तिकै महत्त्व हुन्छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गत चुनावमा आएको जनलहरलाई हेरेर तनहुँ–१ को उपचुनावको टिकटका लागि मात्रै उनले कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका हुन् भने यो कुनै गतिलो र नैतिक राजनीति भने हैन । बरु पदलोलुपता र अवसरको राजनीति हो ।

वाग्ले कांग्रेसभित्र शेखर–गगन समूहको नजिक थिए । सायद, यो कारणले पनि देउवाले उनीप्रति पूर्वाग्रह राखे होलान् । नेपालका अधिकांश पार्टीमा त्यही हुने गरेको छ । मूल नेताले आफ्नो गुट रक्षाको लागि सक्षम-असक्षम, योग्य-अयोग्य, न्याय-अन्याय हेर्ने गरेको छैन । जे गर्दा पार्टीभित्र आफू र आफ्नो गुटलाई बलियो बनाउन सकिन्छ, यही गर्दै आएको छ ।

तर, यो अवस्था केवल वाग्लेको मात्रै नियति हैन । हजारौं, लाखौं कार्यकर्ताको पनि हो । यो नियतिबाट कुनै एक व्यक्तिले मुक्ति खोजेर वा उम्किन पाएर लोकतन्त्रमा ठूलो अर्थ राख्दैन । मुख्य कुरा त यो प्रचलन, संस्कार र संस्कृतिकै संरचनागत समाधान खोज्नुपर्ने हुन्छ । त्यसका लागि अन्तर्पार्टी लोकतन्त्रसँग सम्बन्धित विषयमा संवैधानिक, कानुनी तथा प्रचलनगत परिमार्जनको लडाइँ लड्नुपर्ने हुन्छ ।

वाग्लेले शेखर–गगन समूह र कांग्रेसप्रतिको वैचारिक मोह मारेको देखिन्न । उनको भनाइको आशय छ कि कांग्रेसमा देउवा पक्षको पतन र कोइराला–थापा पक्षको उदय भएमा उनी पुनश्च: कांग्रेस फर्किन सक्दछन् । उनले भनेका छन–‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ।’

यसको अर्थ हो कि कांग्रेसका कोइराला–थापा समूहको उदय भएमा वाग्ले फेरि कांग्रेसमा फर्किन वा रास्वपालाई धोका दिन सक्ने छन् । यसको सीधा अर्थ हुन्छ– जुन नयाँ दलमा उनी प्रवेश गर्दैछन्, त्यसप्रति उनको मनमा कुनै निष्ठा र प्रतिबद्धताको भावना छैन । रास्वपालाई उनी चुनाव लड्ने एक चौतारीका रूपमा उपयोग मात्रै गर्दैछन् ।

यदि, यसो हो भने यो झनै ठूलो अवसरवाद हो । लोकतन्त्रमा राजनीतिक दल चुनावको टिकट पाउने र जित्ने आधार मात्र हैनन् । ती निश्चित विचार, सिद्धान्त र एजेण्डाका संवाहक पनि हुन् । कांग्रेसमा भनेजस्तो नहुँदा रास्वपा जाने फेरि भनेजस्तो हुँदा कांग्रेस नै फर्किने हो भने वाग्लेको त्यस्तो वज्ञताले कुनै सकारात्मक परिणाम दिने छैन ।

सेलिब्रिटीलाई रातारात पार्टी प्रवेश गराउँदै, टिकट दिँदै गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि यस कदमबाट संस्थागत हानी पुग्ने छ। प्राइमरबाट उम्मेदवार छान्ने प्रचलन बसाउने दाबी गर्दै आएको रास्वपाले यस्तो दाबी गर्ने अधिकार गुमाउनेछ ।

गत मंसिरको चुनाव यताको करिब ५ महिनामा रास्वपाले के-कस्ता वाञ्छित वा अवाञ्छित राजनीतिक मोड लियो त्यसले जनधारणामा के-कस्तो असर पार्‍यो वा पारेन भन्ने विषयमा भिन्नै मूल्यांकन होला । तर, एउटा कुरा के सत्य हो भने– गत मंसिरकै जस्तो नैतिक तथा राजनीतिक अपिल गर्ने रास्वपाको क्षमता तुलनात्मक रूपमा कमजोर भएको छ ।

यस्तो बेलामा पनि कुनै अमूक दलको टिकटका लागि यति धेरै मरिहत्ते गर्ने मान्छे के विज्ञ, के बौद्धिक भन्ने प्रश्न उठेमा उत्तर दिन वाग्लेलाई सहज हुने छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved