खानामा धेरै नुन बन्दैछ मानिसको दुश्मन, कति खानु उपयुक्त ?

नेपालभ्युज

खानामा धेरै नुन बन्दैछ मानिसको दुश्मन, कति खानु उपयुक्त ?

एजेन्सी । विश्व स्वास्थ्य संगठनको एउटा रिपोर्टअनुसार आवश्यक भन्दा धेरै नुनले मानिसको ज्यान समेत लिन सक्छ । किनकि यसले कैयौं गम्भीर रोग निम्ताउँछ ।

संगठनले खानामा कति नुन आवश्यक छ र सोडियमको धेरै सेवन गर्दा कस्ता समस्या हुन सक्छन् भन्ने बारेमा पनि बताएको छ ।

संसारभरमा मानिसको मृत्युको एउटा प्रमुख कारण नुन पनि हो । रिपोर्टका अनुसार आवश्यकता भन्दा धेरै नुन कैयौं रोगको कारण बन्न सक्छ । संगठनको लक्ष्य सन् २०२५ सम्म मानिसको खानाबाट ३० प्रतिशत नुन कम गर्ने रहेको छ ।

अहिलेसम्म ब्राजील, चिली, चेक गणराज्य, लिथुआनिया, मलेशिया, मेक्सिको, सऊदी अरब, स्पेन र उरुग्वे जस्ता देशले मात्र नुन कम खानका लागि केही नियम बनाएका छन् ।

रिपोर्टमा यो पनि भनिएको छ, यदि समयमै आवश्यक कदम उठाइएन भने आउने ७ सात वर्षमा लाखौं मानिसले नुनसँग जोडिएको समस्याका कारण ज्यान गुमाउने छन् ।

धेरै नुन खाँदा लाग्ने रोगहरु

नुनमा सोडियम हुन्छ जो शरीरका लागि एकदमै आवश्यक छ । तर धेरै मात्रामा यसको सेवनले हृदय रोग, स्ट्रोक र मिर्गौला रोगको खतरा बढ्छ । यसबाहेक संसारभर गरिएको अध्ययनमा लामो समय सोडियम धेरै मात्रामा लिँदा मोटोपन, पेटको क्यान्सर र अस्टीयोपोरोसिस जस्ता रोगको जोखिम पनि बढ्दछ ।

नुनको आवश्यकता किन हुन्छ

नुनमा सोडियम र पोटाशियम दुवै हुन्छ । सोडियमले मानिसको शरीरमा पानीको सही मात्रा बनाउने देखि लिएर अक्सीजन र पोषक तत्व सबै अंगहरुमा पुर्‍याउन सहयोग गर्दछ । त्यसैले हाम्रो भस्कुलर तथा नर्वस सिस्टमले सही तरिकाले काम गर्न सक्छ ।

दुईगुणा भन्दा धेरै खान्छन् नुन

हामीले हिजोआज जस्तो खालको खानपान गर्छौं त्यसमा नुनको मात्रा धेरै हुन्छ । कुनै पनि व्यक्तिलाई दिनमा पाँच ग्राम भन्दा धेरै नुन खानु हुँदैन तर संसारभरका मानिसले हरेक दिन १०.८ ग्राम नुनको सेवन गर्दछन् ।

जसले एउटा समयपछि शरीरमा घातक परिणाम दिन थाल्छ । त्यसपछि हृदयघात, मिर्गौलामा समस्या, उच्च रक्तचाप जस्ता रोग लाग्छन् ।

विश्व स्वास्थ्य संगठनले के भन्छ ?

संगठनका अनुसार, अस्वस्थ खानपिन दुनियाँभर हुने बिरामी र त्यसबाट हुने मृत्युको एउटा प्रमुख कारण हो । साथै खानामा अधिक सोडियमका कारण मृत्युको संख्यामा पनि वृद्धि भइरहेको छ ।

रिपोर्टअनुसार अत्यधिक देशले सोडियम नियन्त्रणका लागि कुनै ठोस कदम उठाएका छैनन् । जसकारण त्यस्ता देशमा उच्च रक्तचाप, हृदयघात जस्ता समस्या बढ्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले सबै देशलाई नुनको मात्रा कम गर्ने कडा नीति बनाउन अपिल गरेको छ । र यसो गरेमा धेरै रोगबाट बच्न सकिने संगठनले बताएको छ ।

आफ्नो बानी बदलौं

यदि तपाईं पनि आफ्नो खानपिनमा सोडियमको मात्रा कम गर्न चाहनुहुन्छ भने नुनको प्रयोग कम गर्नुहोस् । खाना बनाउने समयमा थोरै मात्रामा नुन हाल्नुहोस । धेरै परिकार खाँदा नुन पनि धेरै खाइन्छ । त्यसैले कम परिकार खाने बानी बसाल्नुहोस ।

कतिपयको खानामा अझ नुन छरेर खाने बानी पनि हुन्छ । जो तुरुन्तै परिवर्तन गर्नुपर्दछ । खानाको माथि नुन छर्केर खानु एकदमै गलत हो । यसले नसामा समस्या, मुटु तथा मिर्गौलासँग जोडिएका समस्या आउन सक्छन् । खानामा पाकेको नुन भन्दा पछि हालेको झन् खतरनाक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved