उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ ।

‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा  प्रमुख-उपप्रमुख अल्टरेट गरेका छौं । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने’ उनले भने, ‘अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने  ? दश दलिय गठबन्धन  महिला  विरोधी छ ।’

अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएको दाबी पनि गरे । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ ।

उनले भने,  ‘उनीहरु किन एकजुट हुन्छन् भन्दा एकैतिर बसेर पनि एकैतिर फर्केका छैनन् । चारैतिर, दशतिर फर्केर बसेका छन् । यताबाट एमालेले हान्छ कि, यता बाट हान्छ कि ? त्रास छ क्या तिनीहरुलाई ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको आरोप पनि लगाए ।

उनले  देशमा जातिय आधारमा नभई वर्गिय आधारमा आरक्षण दिइनुपर्ने बताए । जातिय रुपमा आरक्षण दिदाँ त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved