मन्त्रिपरिषद् विस्तार तत्काल हुँदैन– मन्त्री शर्मा

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार तत्काल हुँदैन– मन्त्री शर्मा

काठमाडौं। आफैँले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै केही समय मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मंगलबार सो कुराको पुष्टि गरेकी छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउन आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताइन्।

त्यसैगरी, नयाँ गठबन्धनमा अझै कति दल थपिने र सरकारमा जाने नजाने भन्ने टुङ्गोसमेत नलागेको उनको भनाइ थियो। प्रवक्ता शर्माले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि हतार नगर्ने बताइन्। राष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था रहेको समेत उनले जानकारी गराइन्।

अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनको भनाइ थियो। तर, उनले निर्धारित समयभित्रै विश्वासको मत लिने बताइन्।

मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा फागुन २५ देखि २६ गतेसम्म आयोजना हुने मध्यकालीन समीक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायालाई सहभागी हुन स्वीकृति दिएको पनि प्रबक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै, नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको पनि सञ्चारमन्त्री शर्माले जानकारी दिइन्।

त्यसैगरी, कर्णाली कोरिडोर ४०० केभी प्रसारणलाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने, यसअघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषदबाट शहीद घोषणा भई नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको समेत जानकारी दिइन्।

त्यस्तै, कतारको दोहामा हुने अति कम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलको फागुन १९ गतेदेखि २३ गतेसम्मको भ्रमण स्वीकृत भएको समेत प्रवक्ता शर्माले जानकारी दिइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved