जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, स्थानीयले गरे निकुञ्जको कार्यालय तोडफोड

तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ । पोष्ट नजिकै स्थानीयले आगजनी समेत गरेका छन् ।

जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, स्थानीयले गरे निकुञ्जको कार्यालय तोडफोड

मकवानपुर । मकवानपुरमा गत माघ २५ गते बाघको आक्रमणबाट घाँस काट्न गएकी वृद्धा घाइते भइन् । लामो समयदेखि मकवानपुरको विभिन्न पालिकाहरुमा बाघले आतंक फैलाइरहेको छ ।

बाघको आतंक कम हुन नपाउँदै केही दिनदेखि मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले आक्रमण गर्‍यो ।

सोमबार बिहान घर नजिकै बसिरहेकी मनहरी गाउँपालिका-४ की ६४ वर्षीया राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ ।

हात्तीको आतंकबाट आजित र आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयमा तोडफोड गरेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको जीप तोडफोड भएको छ । तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ । पोष्ट नजिकै स्थानीयले आगजनी समेत गरेका छन् । हात्ती लखेट्न र धनजनको क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

निकुञ्जमा रहेको हात्ती बाटो बिराएर आइतबार साँझ त्यसक्षेत्रमा आएको थियो । केही दिन अघिदेखि निकुञ्ज क्षेत्रको गाउँमा आतंक मच्चाउँदा समेत हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोशित स्थानीयहरुले जीप तोडफोड गरेका हुन् ।

मकवानपुरका जंगलहरु पनि घना बन्दै जानु र निकुन्ज आसपासका क्षेत्रबाट जंगली जनावर बस्तीमा प्रवेश गर्नुले पनि स्थानीय बासिन्दाहरु थप त्रसित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved