लोकसेवा आयोग योग्य कर्मचारीको जननी – प्रदेश प्रमुख परियार

नेपालभ्युज

लोकसेवा आयोग योग्य कर्मचारीको जननी – प्रदेश प्रमुख परियार

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोग योग्य र सक्षम कर्मचारीको जननी भएको बताएका छन्। आयोगको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले आयोग योग्य, समक्ष र कर्मठ कर्मचारीहरू जन्माउने जननी भएकोले यसको क्षमता थप हुनुपर्ने सुझाव दिए।

संघीय भावना अनुसार संविधानले दिएको अधिकार प्रयोग गरी समावेशिताका आधारमा निजामती क्षेत्रमा प्रवेश गर्न चाहनेहरूले आयोगलाई ठूलो विश्वास गरेको उनले बताए। छोटो अवधिमै आयोगले धेरै उल्लेखनीय काम गरी सेवा प्रवाहको कामलाई सहज बनाउन योगदान दिएकोमा सह्राना गरे।

कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले नेपालमा प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको बताए। उनले शिक्षा प्रणाली एकातिर, कार्य सम्पादन अर्कोतिर भएकोले सक्षम कर्मचारीले मात्र सही दिशा दिन सक्ने उल्लेख गरे। साथै निजामती सेवा ऐन बनाउनेतर्फ आफूहरूको कदम चल्ने प्रतिबद्धता गरे।

कर्णाली प्रदेशका प्रमुख सचिव गोपीकृष्ण खनालले प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार भइरहेको जानकारी दिए । उनले आयोगलाई प्रशासनिक भन्दा प्राविधिक कर्मचारी पूर्ति गर्न सुझाव दिँदै काम गर्ने कर्मचारीहरूलाई सेवा सुविधा थप गर्नुपर्नेमा जोड दिए।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेश निजामती सेवा ऐन नबन्दा स्थानीय तहहरूमा कर्मचारीहरूको अभाव भएको बताइन् । उनले केहीँ कर्मचारी फालाफाल त कहीं अभाव भएको हुँदा जतिसक्दो छिटो निजामती ऐन ल्याउन माग गरिन्।

सो अवसरमा कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोगले स्थापनाको दुई वर्षे अवधिमा प्रदेश तथा स्थानीय तहका लागि ८६० कर्मचारी सिफारिस गरेको जनाएको छ। प्रदेश लोक सेवा आयोगका सचिव नारायणप्रसाद भट्टराईले स्थापनाको दुई वर्षको अवधिमा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका लागि ८६० जनालाई छनौट गरी स्थायी नियुक्तिका लागि सिफारिस गरिएको बताए।

जसमा पाँचौँ तहमा ४७६ जना र चौथो तहमा ३८४ जना छन् । आयोगको यस कार्यबाट ती निकायहरूमा रिक्त रहेको दरबन्दी पूर्ति भई सेवा प्रवाह र विकास निर्माण कामहरू सुचारु गर्न सहयोग पुगेको जिकिर उनले गरे।

आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले अन्यौलताका वीचबाट काम गर्न थालेको आयोगले छोटो समयमै काम गरी अव्वल साबित भएको जिकिर गरे। उनले कामका आधारमा कर्णालीको प्रदेश लोक सेवा आयोग पहिलो भएको दाबी गरे। दुई वर्षको अवधिमा विभिन्न पदमा डेढ लाख आवेदन मध्ये ८६० जना योग्य उम्मेदवारहरूलाई छनौट गरी स्थायी नियुक्ति गर्न सिफारिस गरिएको उनको भनाइ छ। पछिल्लो समय निजामतीतर्फ धेरै आकर्षण बढेको कारण आयोगको जिम्मेवारी र चुनौती पनि थपिएको अध्यक्ष उपाध्यायले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved