साफ यू-२० महिला फुटबल

उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै, यस्तो छ नेपाली टोलीको विगतको प्रदर्शन

नेपाल पहिलो खेलमा घरेलु टोलीसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो। सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै नेपाल फाइनल पुगेको हो।

उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै, यस्तो छ नेपाली टोलीको विगतको प्रदर्शन

काठमाडौं । साफ यू–२० महिला फुटबलको फाइनल आज बिहीबार हुदैँछ। बङ्गलादेशमा जारी प्रतियोगिताको उपाधि जित्न नेपाल र आयोजक राष्ट्र आमने सामने हुनेछन्। फाइनल खेल आज बेलुका पौने ६ बजे बंगलादेशको ढाकामा रहेको कमलापुर स्टेडियममा सुरु  हुनेछ ।

नेपाल पहिलो खेलमा घरेलु टोलीसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो। सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै नेपाल फाइनल पुगेको हो।

विगतको साफ जुनियर प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो थियो त हेरौँ।

सन् २०१८ यू–१८ महिला फुटबल प्रतियोगिता


सन् २०१८ मा साफले पहिलो पटक यू–१८ जुनियर फुटबल प्रतियोगिता आयोजना गरेको थियो। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको प्रतियोगितामा ६ राष्ट्रको सहभागिता थियो। प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।

भारत, माल्दिभ्स र भुटान समुह ए तथा नेपाल, बङ्गलादेश र पाकिस्तान समूह बीमा थिए। समूह एबाट भारत र भुटान नकआउटमा पुगे। समूह बीबाट बङ्गलादेश र नेपाल । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित भएको थियो।

नकआउट चरणमा भारतविरुद्धको खेलमा १–१ को बराबरी खेलेसँगै नेपाल फाइनलमा पुगेको थियो। बङ्गलादेशले भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।

फाइनलमा भने बङ्गलादेशले नेपाललाई १–० ले पराजित गर्दै उपाधि उचाल्यो। भारतले भुटानलाई १–० ले पराजित गर्दै तेस्रो बन्न सफल भएको थियो।

प्रतियोगितामा नेपालकी रेखा पौडेलले ७ गोल गरेकी थिइन्।

सन् २०२१ यू–१९ महिला फुटबल 


जुनियर स्पर्धामा साफ यू–१९ महिला प्रतियोगिता दोस्रो संस्करणको रुपमा सुरु भयो। बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्तफा कमाल रंगशालामा संचालन भएको थियो।

सन् २०२१ अफ्रिल ७ मा फिफाले पाकिस्तान फुटबल महासंघलाई निलम्बन गरेको थियो। माल्दिभ्सले भने प्रतियोगिताको खेल तालिका सार्वजनिक हुनु अगाडि नाम फिर्ता लिएको थियो। जसका कारण नेपाल, बङ्गलादेश, भारत, भुटान र श्रीलंकाबीच प्रतिस्पर्धा भएको थियो।

पहिलो खेलमा नेपाल बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गर्यो। तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएसँगै नेपाल बाहिरिएको थियो।

अङ्क तालिकाको शीर्ष २ टोली बङ्गलादेश र भारत फाइनल पुगेका थिए। फाइनलमा भारतलाई १–० ले हराउँदै बङ्गलादेश विजेता भनेको थियो। यस संस्करणमा नेपालले फेयर प्ले अवार्ड जितेको थियो।

सन् २०२२ साफ यू–१८ 


साफ २०२२ यू–१८ जुनियर महिला प्रतियोगिताको तेस्रो संस्करण थियो। सो संस्करण भारतको जमशेदपुरमा आयोजना गरिएको थियो। नेपाल, भारत र बङ्गलादेश गरी केवल ३ राष्ट्रको सहभागिता थियो।

हरेक राष्ट्रले ४–४ खेल खेलेका थिए । नेपालको प्रदर्शन निकै खराव थियो । पहिलो खेलमा भारतसँग ७–० ले हारेको नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग ४–२ ले पराजित भयो । तेस्रो खेलमा भारतले ५–१ तथा चौथो खेलमा  बङ्गलादेशले २–१ गोलअन्तरले हराएपछि नेपाली टोली अंकविहीन भएर घर फर्कियो । फाइनलमा साविक विजेता बङ्गालदेशलाई १–० ले हराउँदै भारतले उपाधि जितेको थियो।

विगतको ३ संस्करणकोे साफ जुनियरको नतिजालाई हेर्दा नेपाल र बङ्गलादेश ५ खेलमा आमने सामने भएका छन्। जसमध्ये ४ मा बङ्गलादेश विजयी हुँदा १ खेल बराबरी भएको छ ।

जारी संस्करणको पहिलो खेलमा भने नेपाल बङ्गलादेशसँग पराजित भईसकेको छ। बङ्गलादेश साफमै सबैभन्दा बलियो टोली मानिन्छ । तर भारतलाई हराएको नेपालको मनोबल पनि उच्च छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved