सर्वोच्चमा अनलाइनबाट मुद्दा दर्ता गर्ने तयारी भएको छ : कामु प्रधानन्यायाधीश कार्की

नेपालभ्युज

सर्वोच्चमा अनलाइनबाट मुद्दा दर्ता गर्ने तयारी भएको छ : कामु प्रधानन्यायाधीश कार्की
फाइल फोटो

काठमाडौं ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताएका छन् ।

शुक्रवार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्नसकिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

यसको निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी दिए । त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरुको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताए । त्यस्तै पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको पनि उनले उल्लेख गरे ।

का.मु. प्रधानन्यायाधीश कार्कीले अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न शुरु गरिएको बताए । अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेमा प्रविष्ट गराउने सोच राखेको उनले जानकारी दिए ।

उनले भने- ‘अदालतहरुमा रहेका अभिलेख मिसिलहरुको डिजिटाइजेशन गर्ने कार्यको थालनी गरिएको छ । यसलाई परियोजनाकै रुपमा प्राथमिकतापूर्वक कार्य गर्न आवश्यक बजेटको विनियोजन भएको अवस्थामा अदालतहरुमा हाल रहेका करिव ३६ लाख मुद्दाका मिसिल कागजहरुको स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गर्ने सोच रहेको छ । ‘

यस्तो भएमा मिसिल कागजातहरु सुरक्षित रहने र ति कागजातहरुमा कुनैपनि अदालत तथा माथिको अदालतबाट पनि सहज रुपमा मिसिल कागजात प्राप्त गर्न सक्ने अवस्था रहने उनले बताए ।

‘यसले माथिल्लो अदालतले मिसिल मगाउन लाग्ने समय तथा लागत वचत भई समयमै न्याय सम्पादन हुनसक्ने, सरोकारवालले आफ्नो नजिकको अदालतमा गएर आफ्नो मिसिलमा रहेको फैसला लगायतका कागजातका प्रतिलिपि प्राप्त गर्नसक्ने अवस्था सिर्जना गर्दछ’  उनले भने ।

का.मु. प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरुको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको बताए । उनले यसबाट मुद्दाका पक्षहरु र अदालत स्वयम्लाई कार्य सम्पादनमा सहज भएको बताए ।

उनले भने, ‘सूचना प्रविधि सम्बन्धी विभिन्न प्रणालीहरु तथा सफ्टवेयरहरुले न्यायपालिकाको कार्यसम्पादनमा सहजता र सरलता ल्याएको छ । मुद्दा व्यवस्थापनका लागि तयार भएको एकीकृत मुद्दा व्यवस्थापन प्रणालीको प्रयोगले मुद्दा व्यवस्थापनको प्रत्येक चरणलाई सरल, व्यवस्थित र पारदर्शी बनाएको छ ।’

उनले न्यायपालिकाको सूचना प्रविधिको स्तर तुलनात्मक रुपमा सन्तोषजनक रहेको उल्लेख गरे । कार्कीले शुक्रवार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved