स्कुलबाट घर फर्किँदै गरेकी बालिका मृत फेला

उनी त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।

नेपालभ्युज

स्कुलबाट घर फर्किँदै गरेकी बालिका मृत फेला

खोटाङ । स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल मृत फेला परेकी छन्।

उनी त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्। आज बिहान आफ्नै घर नजिकै रहेको खन्यु (घाँसजन्य वनस्पति) को फेदमा उनी मृत फेला परेकी हुन्।

महेन्द्रोद्धय मावि हलेसीको कक्षा–१० मा अध्ययनरत बालिका माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन्। प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे तीन बजेतिर घर फर्केकी थिइन्।

बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन्। विद्यालयबाट घर फर्केकी छोरी बाटैमा मृत फेला परेपछि परिवार शोकमा परेको छ।

घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रूखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए।

‘ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ,’ उनले भने, ‘प्रहरी प्रशासनले कसैको दबाबमा नपरी सत्यतथ्य छानबिन गर्नुपर्छ। घटनाको अवस्था हेर्दा हत्या गरेर झुण्ड्याइएको हुनसक्छ।’

nic
घटनाको वियषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए। बालिकाको शव परीक्षणपछि ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैं झुण्डिएको’ भन्ने विषय अस्पतालको प्रतिवेदनमा खुल्ने प्रहरीले बताएको छ।

बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ। बालिकाको शंकास्पद शव भेटिएपछि विद्यालयको कार्यक्रमसमेत स्थगित गरिएको आयोजकले जनाएको छ।

हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको थियो। उनीहरू दुवैको हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेको छैन। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved