रोनाल्डोको आगमनसँगै अलनासरको चर्चा चुलिँदो, नयाँ सहकर्मीबीच स्टारका चुनौती र सम्भावना

रोनाल्डो जुन क्लबमा पुग्छन्, त्यो उनकै नामले चर्चामा आउने गर्दछ। अलनासरले पनि अहिले निकै चर्चा पाइरहेको छ । यसले क्लबको ख्याती विश्वभर नै बढाउने छ ।

नेपालभ्युज

रोनाल्डोको आगमनसँगै अलनासरको चर्चा चुलिँदो, नयाँ सहकर्मीबीच स्टारका चुनौती र सम्भावना

काठमाडौं । साउदी अरेबियाको फुटबल क्लब अलनासरले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको औपचारिक अनुबन्धन सार्वजनिक गरेको छ।  ५ पटक बालोन डी’ओर जितेका रोनाल्डोले विश्वकपअघि म्यान्चेष्टर युनाईटेडसँगको सम्झौँता रद्द गरेका थिए ।

त्यसपछि उनको क्लब भविष्यलाई लिएर प्रश्न उठेको थियो। पोर्चुगलको खेल सुरु भएसँगै रोनाल्डोलाई अलनासरबाट आएको प्रस्ताव पनि बाहिरिएको थियो। तर, औपचारिक घोषणा नभएकाले उत्सुकता बाँकी नै थियो। रोनाल्डोको आगमनले साउदी अरेबियामा उत्साह देखिन्छ ।

शनिबार अलनासरको खेलका क्रममा समर्थकले रोनाल्डोको नाम लिँदै रंगशाला गुन्जायमान बनाएका थिए। अलनासरले सार्वजनिक गरेको भिडिओमा रोनाल्डोको आगमनले कस्तो हलचल मच्चाएको छ भनेर प्रस्ट देखिन्छ।

नयाँ क्लबमा रोनाल्डोको चुनौती र सम्भावनालाई बुझ्ने प्रयास गरौँ।

अलनासरको पृष्ठभूमि

सन् १९५५ मा साउदी अरेबियाको राजधानी रियादमा अलनासर क्लब स्थापना भएको थियो। अलनासर साउदीको टप डिभिजन लिग ‘साउदी प्रोफेसनल लिग’ एसपीएल खेल्ने गर्दछ।

अलनासरको गृह मैदान मिसूल पार्कको क्षमता २५ हजार छ। अलनासरले कुल ९ लिग उपाधि जितेको छ। यो देशको दोस्रो सफल क्लब हो। पहिलो स्थानमा भने १८ उपाधि जितेको अल हिलाल क्लब छ ।

जारी लिगमा १० खेलपश्चात अलनासर २६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गत सिजन टोली तेस्रो भएको थियो।
अलनासरले साउदी अरेबियाको नकआउट प्रतियोगिता ‘किङ्स कप’ छ पटक जितेको छ ।

सन् १९९५ को एएफसी च्याम्पियन्स लिगमा अलनासरले इतिहासकै उत्कृष्ट प्रदर्शन गरेको थियो। सो संस्करणमा अलनासर उपविजेता बनेको थियो।

लिगका सर्वाधिक गोलकर्ता मजेद अबदुल्लाहले सन् १९७७ र १९९८ मा सम्पुर्ण क्लब करियर अलनासरमा बिताएका थिए। साउदी अरेबियाका पूर्व स्ट्राइकर पनि रहेका अबदुल्लाहले क्लबको लागि १८९ गोल गरेका छन्।

रोनाल्डोको चुनौती र सम्भावना

म्यान्चेष्टर युनाईटेडमा हुँदा र क्लबसँग सम्झौता तोडेलगत्तै पनि रोनाल्डो युरोपियन क्लबसँग नै आबद्ध हुने अनुमान गरिएको थियो । शायद रोनाल्डो पनि त्यही नै चाहन्थे । तर उनको बढ्दो उमेर र खेल्ने शैलीका कारण युरोपका कुनै पनि ठुला क्लब रोनाल्डोप्रति आकर्षित देखिएनन् ।

युनाईटेडमा प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई डिफेन्सिभ र जवाफी हमला रणनीतितर्फ पनि झुकाउन प्रयास गरेका थिए। तर सफल भएनन् । रोनाल्डोको विगत केही वर्षलाई हेर्ने हो भने पनि उनको उपस्थितिमा टोलीले अत्याधिक गोल गर्न नसकेको देखिएको थियो।

रोनाल्डोको इटालीको क्लब युभेन्ट्ससँगको यात्रालाई हेरौँ। उनको उपस्थितिमा क्लबले २ लिग उपाधि जितेको थियो। ३ सिजनमा रोनाल्डोले कुल ८१ गोल गरेका थिए। तथापि, रोनाल्डो टोलीमा भएसँगै हरेक खेलको गोल सङ्ख्या घट्दै गएको देखिएको थियो।

युनाईटेडसँगको दोस्रो कार्यकालको पहिलो सिजन रोनाल्डोले १८ गोल गरेका थिए। तर, रोनाल्डोको आगमनपश्चात टोलीमा प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरले जोड दिँदै आएको जवाफी हमलामा भने युनाईटेडको पकड गुम्न थालेको थियो।

बढ्दो उमेरले उनको तीव्रतालाई असर गरिरहेको बुझ्न सकिन्छ। अलनासरमा पनि यस्तो प्रदर्शन उनका लागि चुनौतीपुर्ण हुन सक्छ । अलनासरका फ्रान्सेली फुटबल प्रशिक्षक रुडी गार्सीयाले जवाफी हमला र तीव्रतालाई नै प्राथमिकतामा राख्ने गर्दछन्। जुन शैलीमा रोनाल्डो चुकिरहेका देखिन्छन्।

रोनाल्डोका लागि जति चुनौती छन्, त्यति नै सम्भावना पनि देखिन्छ । समर्थकहरुको निरन्तर माया र साथ जोगाउन रोनाल्डोले अलनासरलाई उत्कृष्ट अवसरको रुपमा लिन सक्छन् । अर्को बलियो पक्ष भनेको रोनाल्डोको छवि पनि हो। रोनाल्डो जुन क्लबमा पुग्छन्, त्यो उनकै नामले चर्चामा आउने गर्दछ। अलनासरले पनि अहिले निकै चर्चा पाइरहेको छ । यसले क्लबको ख्याती विश्वभर नै बढाउने छ ।साउदी प्रोफेस्नल लिगले पनि विश्वकै ध्यानाकर्षण गर्न सफल हुनेछ।


जसको झल्को अलनासरको सामाजिक संजालमा बढेको फलअर्सबाट पनि देख्न सकिन्छ । आइतबार करिब ४.५ मिलियनको हाराहारिमा भएको अलनासारको इन्स्टाग्राम अकाउन्टका फलोअर सोमबार बिहान ६ मिलियन कटिसकेको छ ।

रोनाल्डोसँग अलनासरमा खेल्ने खेलाडी

कतार विश्वकपमा क्यामेरुनका लागि हिरो साबित भएका भिन्सेन्ट अबुबाकरसँग रोनाल्डोले मैदानमा सहकार्य गर्नेछन्। समुह चरणको अन्तिम खेलमा सब्सचिट्युटको रुपमा मैदान प्रवेश गरेका अबुबाकरले ब्राजिलविरुद्ध गोल गरेका थिए।

कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाको पनि टोलीमा छन् । डेभिड आर्सनल र नापोलीका पूर्व खेलाडी हुन् । ब्राजिलका पूर्व अन्तर्राष्ट्रिय मिडफिल्डर लुइस गस्ताभोको पनि उपस्थिति छ ।

विश्वकपमा नै साउदी अरेबियाका गोलरक्षक नवाफ अल अकिदी, मिडफिल्डर समी अल नाजेइ, अलि अल हसान तथा डिफेन्डर सुल्तान अल घानम, र अब्दुल्लेला अल–अम्री पनि अल नासरमा रहेका छन्।

एसपीएल क्लबले ८ विदेशी खेलाडी दर्ता गर्न पाउने प्रावधान छ । यद्यपि, सुरुवाती–११ मा भने केवल ७ खेलाडी मात्रै राख्न पाउँछ । स्पेनका डिफेन्डर अल्भारो गोन्जालेज, अर्जेन्टिनाका पिटी मार्टिनेज, ब्राजिलका फर्वाड एन्डरसन टालीस्का, र आइभोरी कोस्टका घिल्सेन कोनान पनि अलनासरमा आबद्ध छन्।

जनवरी ५ मा हुने अल ताईविरुद्धको खेलमा रोनाल्डोको उपस्थिति हुन्छ कि हुँदैन अझै प्रष्ट छैन । सन् २०२५ जुनसम्म अलनासरसँग रोनाल्डोको सम्झौँता छ । त्यो बेलासम्म कस्तो उतारचढाव आउँछ रोनाल्डोको खेल जीवनमा महत्वपूर्ण हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved