स्थानीय तहको काम पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

स्थानीय तहको काम पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रस्ट्याएका हुन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरे । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए ।

उनले भने– ‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुख्द अवसरमा महानगरबासी तथा जनप्रतिनिधिहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र परिणाममुखी नागरिक जवाफदेही हुनुपर्दछ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरूले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमुना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved