रोनाल्डो २ सय मिलियन डलरमा अल नासिरमा आबद्ध

नेपालभ्युज

रोनाल्डो २ सय मिलियन डलरमा अल नासिरमा आबद्ध

काठमाडौं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आगामी सिजनमा युरोपको शीर्ष क्लबबाट खेलेको देख्न नपाइने भएको छ । रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासिरसँग आबद्ध भएपछि अबदेखि यूएईको लिग खेलेको देखिनेछ ।

स्पेनको वेबसाइट मार्काले दाबी गरेअनुसार ३७ वर्षीय खेलाडीले करिब २ सय मिलियन युरोमा अल नासिरसँग सम्झौता गरेका छन् । मार्काको अनुसार आगामी साढे दुई सिजन क्लबसँग आबद्ध हुनेछन् । ट्रान्सफर विन्डो खुल्नेबितिकै उनी यो क्लबसँग आबद्ध हुने पनि जनायो ।

रोनाल्डोले एक विवादित अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेड छोडेका थिए । उनी करिब एक वर्ष प्रिमियर लिग क्लबसँग आबद्ध भएका थिए । यसअघि उनी इटालियन् क्लब युभेन्टसबाट खेलेका थिए । २० दिन अघि रोनाल्डोले ब्रिटिस ब्रोडकास्टर पियर्स मोर्गानलाई दिएको अन्तर्वार्तामा क्लब मेनेजमेन्ट र उसको मेनेजरमाथि कयौं आरोप लगाएका थिए ।

रोनाल्डोले उक्त अन्तर्वार्तामा बताएका थिए—म्यानचेस्टर युनाइटेडद्वारा मसँग विश्वासघात गरिरहेको छ र क्लब उनलाई बाहिर पठाउन चाहिरहेको छ । मेनेजर हाग (एरिक टेन हाग) ले पछिल्लो महिना टोटनहामविरुद्ध ओल्ड ट्राफोर्डमा १९ अक्टोबरमा खेलिएको खेलमा मलाई भड्काएका थिए । मलाई लाग्यो उनले जानेर बुझेर यस्तो गरेका थिए । मैले भडकिएको महसुस गरेको थिएँ । म उनलाई सम्मान गर्दिनँ किनभने उनले मलाई सम्मान गरेका छैनन् ।

अन्तर्वार्तामा यस्तो बोलेपछि क्लबका मेनेजमेन्टले उनको सम्झौता सकिएको घोषणा गरेको थियो । क्लबको प्रावधानअनुसार कुनै पनि खेलाडीले क्लबविरुद्ध बोलेमा या नराम्रो गतिविधि गरेको छ भने ती खेलाडीलाई क्लबबाट निकाल्न सकिने रहेको छ ।

रोनाल्डोले अहिलेसम्म युरोपका चार शीर्ष क्लबसँग खेलिसकेका छन् । उनले क्लबस्तरीय खेलमा ७ सय १ गोल गरेका छन् । सबैभन्दा बढी स्पेनी ला लिगा क्लब रियल मेड्रिडविरुद्ध गरेका थिए । उनले यो क्लबबाट ४ सय ३८ खेलबाट ४ सय ५० गोल गरेका थिए । यसपछि उनले म्यानचेस्टर युनाइटेडका लागि १ सय ४५ गोल गरेका थिए । अन्यमा उनले युभेन्टसका लागि १ सय १ गोल र पोर्चुगलको क्लब स्पोर्टिङ सीपीका लागि ४ गोल गरेका थिए ।

रोनाल्डोले समग्रमा कुल ८ सय १९ गोल गरेका छन् । उनले पोर्चुगलका लागि १ सय १८ गोल गरेका छन् । हाल विश्वकपमा खेलिरहेका रोनाल्डोले पोर्चुगलको पहिलो खेलमा घानाविरुद्ध एक गोल गरेका थिए । यो उनको १ सय १८औं अन्तर्राष्ट्रिय गोल थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved