मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : गगन थापा

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह

कांग्रेस महामन्त्री गगन थापालाई उम्मेदवार हराउने मुख्य योजनाकार भन्दै प्रचार गर्न थालिएको छ । थापाले भने आफ्नो क्षेत्रका मतदाता सचेत रहेको बताउँदै धेरै टिका टिप्पणी नगर्न आग्रह गरेका छन् ।

नेपालभ्युज

मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : गगन थापा

काठमाडौं । चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै विवाद चर्कन थालेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगन थापालाई उम्मेदवार हराउने मुख्य योजनाकार भन्दै प्रचार गर्न थालिएको छ । गठबन्धनका उम्मेदवारलाई असहयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग साँठगाँठ गरेको आरोप पनि उनलाई लगाइएको छ ।

माओवादीका नेता राम नारायण विडारीले थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे । गगन थापाको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नहुनुले पनि यसको पुष्टि भएको उनको जिकिर छ ।

उनी भन्छन् ‘गगन थापा उठेको ठाउँमा घण्टीको उम्मेदवार खोइ ? पहिला रवि लामिछाने त्यही चार नम्बर क्षेत्रबाट लड्छु भन्नुभयो त्यपछि आफू सुटुक्क चितवन जानुभयो, यहाँ घण्टीको उम्मेदवार खालि गरिदिनुभयो, यहाँ गगन थापा चुनाव लड्दै हुनुहुन्थ्यो यी सबै कुराको डिजाइन त कतै न कतैबाट भएको छ ।’

विडारीले काठमाडौं २ र ७ मा माओवादीका उम्मेदवारलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर हेरेका छन् । काठमाडौं ६ मा कांग्रेसका उम्मेदवार बनेका भीमसेनदास प्रधानले पनि पार्टीभित्र बाटै चलखेल भएको आशय व्यक्त गरेका छन् ।

गगन थापा तर्फ इङ्कित गर्दै नेपाल भ्युजसँग उनले भने ‘एउटा समुह म माथी पनि हावी भएकै हो, मैले मे्रो निर्वाचन क्षेत्रमा प्रचारकालागि बोलाए तर एक जना नेता आउनुभएन पटक पटक फोन गर्दापनि उहाँले मेरो फोन उठाउनुभएन मैले जितेभने काठमाडौ उपत्यकाको नेतृत्व गर्छु भन्ने लागेर मेरो विरुद्ध लाग्नुभयो होला ।’

उनले आफूसँग प्रतिस्पर्धामा विजयी भएका स्वतन्त्र पार्टीका उम्मेदवार कतैबाट परिचालित भएको हुनसक्ने आशंका पनि व्यक्त गरे । अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो हुँदा स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन् ।

मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए

पार्टी महामन्त्रीले नै असहयोग गरेको हल्ला फिजिँएसँगै महामन्त्री थापाले स्पष्टीकरण दिइरहेका छन् । उनले मतदाताको विद्रोह बुझ्न नसकेर आफूमाथि आरोप लगाउनु अज्ञानता भएको बताएका छन् ।

‘हामीले जुन मतदाता हाम्रो भन्छौँ मतदाता त्यस्तो कहिल्यै पनि हुँदैन । मतदाता कहिल्यै पनि दलसँग टाँसिएर बस्दैनन् ।’ उनी भन्छन्, ‘अझ शहरको मतदाता निकै शिक्षित हुन्छन् । यसलाई मैले मतदाताको विद्रोहको रूपमा बुझेको छु । शहरका मतदाताले खसालेको मत विद्रोहको मत हो । मतदाताको विद्रोह बुझ्न नसकेपछि उम्मेदवारले सोच्ने भनेको कसले चलखेल गर्‍यो, बाहिरी शक्ति हावी भयो भन्ने नै हो ।’

उनले आफ्नो क्षेत्रमा स्वतन्त्र वा अरू पार्टीको उम्मेदवार नहुँदा  सहज भएको बताए । यसका शंका गर्नेको इमान्दारितामा प्रश्न उठ्ने उनको भनाइ छ । उनले गठबन्धनका दलको सहयोगले नै आफ्नो जित भएको स्पष्ट पारे । ‘चलखेल भयो भन्दा मेरो निर्वाचन क्षेत्रका मतदाताको घोर अपमान हुन्छ र गठबन्धनमा रहेका दलका साथीको इमान्दारितामा पनि पनि ठूलो प्रश्न हुन्छ ।’ उनी भन्छन्।

आफूमाथि लागेका आरोपबारे भिडिओमा प्रष्ट्याउँदै  उनले आफ्ना क्षेत्रका मतदाताले सांसदको रूपमा नभई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा मत दिएको दाबी गरे । ‘यो पटक प्रलय नै आएको भए पनि मेरो क्षेत्रका मतदाताले मलाई निर्वाचित गरेर पठाउनुहुन्थ्यो । त्यसको एउटै कारण के हो भने सांसद बनाएर पठाएको होइन यो पटक, मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर पठाएको हो । संस्थापन जो छ त्यो संस्थापनसँग विद्रोह गर्न पठाएका हुन् ।’

उनले आफ्नो क्षेत्रका मतदाता सचेत रहेको बताउँदै धेरै टिका टिप्पणी नगर्न आग्रह गरेका छन् । काठमाडौं-४ को भूगोल र मतदाताको स्तर बुझेर मात्र अभिव्यक्ति दिनसमेत थापाले सचेत गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved