विश्वकप फुटबल: बेल्जियम भर्सेज मोरक्को

नेपालभ्युज

विश्वकप फुटबल: बेल्जियम भर्सेज मोरक्को

काठमाडौं। विश्वकप फुटबलमा आज आइतबार बेल्जियम र मोरक्को भिड्दै छन्। अल थुमामा रंगशालामा नेपाली समयअनुसार बेलुकी पौने ७ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।

३ अङ्कसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ। १ अङ्क भएको मोरक्को तेस्रो स्थानमा छ। १ अङ्क भएको क्रोएसिया भने दोस्रो र क्यानडा पुछारमा छ।

यसअघि  बेल्जियम र मोरक्को विश्वकपमा एक पटक मात्रै भिडेका छन् । सन् १९९४ को विश्वकपमा बेल्जियमले मोरक्कोलाई पराजित गरेको थियो।

जारी विश्वकपको पहिलो खेलमा बेल्जियमले क्यानडालाई १–० ले पराजित गरेको थियो। बेल्जियमको अहिलेको फुटबल टोलीलाई स्वर्ण यूगको अन्तिम टोलीको रुपमा हेरिएको छ। बेल्जियमका इडेन हजार्डको बढ्दो उमेरको प्रभाव पनि केही हदसम्म क्लब र राष्ट्रिय टोलीमा परेको देखिन्छ।

तुलनात्मक रुपमा भने मोरक्को टोली जोश र प्राविधिक रुपले बलियो पनि देखिन्छ। एकनासको प्रदर्शनलाई निरन्तरता दिन चुकिरहेका बेल्जियमका लागि मोरक्कोको एकाग्रता चुनौती बन्न सक्छ।
मोरक्कोले आफ्नो पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो। तथापि, सो खेलमा हकिम जियेचबाट उत्कृष्ट प्रदर्शन देखिएको थियो।

मोरक्को टोलीमा भएका सेलिम अमल्लाहलगायत अधिकांश खेलाडी बेल्जियममा जन्मेका वा बेल्जियमका क्लबका लागि खेल्छन् । यो अनुभवका कारण बेल्जियमलाई चुनौती खडा हुन सक्छ ।

यद्यपि, मोरक्को टोलीमा घाइते खेलाडीले केही असर पर्ने देखिन्छ। क्रोएसियाविरुद्धको खेलमा मोरक्कोका नौसैर मजरौई र अचराफ हाकिमी घाइते भएका थिए। मजरौईले चोटका कारण सो खेल गुमाएका थिए। हाकिमी भने शनिबारको तालिममा उपस्थित थिए।

क्यानडामाथि जित निकालेको बेल्जियन टोलीका खेलाडी शनिबारको तालिममा उपस्थित थिए। सो खेलका निर्णायक गोलकर्ता मिचि ब्याट्सुआईले यस खेलमा पनि आफ्नो योगदान पुर्‍याउने देखिन्छ।

क्यानडासँगको खेलमा चोटका कारण अनुपस्थित भएका फर्वाड रोमेलु लुकाकुले मोरक्कोसँगको खेल पनि गुमाउने सम्भावना छ । यद्यपि, प्रशिक्षणमा भने लुकाकु उपस्थिति थिए । आज सफलता पाए विश्वकप इतिहासमा समुह चरणको लगातार ९ खेलमा जित निकाल्ने बेल्जियम पहिलो टोली हुनेछ। पछिल्लो ४ विश्वकपमा अफ्रिकी टोलीसँग बेल्जियम अपराजित छ।

समूह एफमा बेल्जियम, मोरक्को, क्रोएसिया र क्यानडा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved