चर्चा र विवादका पर्याय म्याराडोना : जसका कारण विश्वकपकै रौनक बढ्यो

नेपालभ्युज

चर्चा र विवादका पर्याय म्याराडोना : जसका कारण विश्वकपकै रौनक बढ्यो

काठमाडौं । ‘कतार विश्वकप’ नजिकिँदै छ । विश्वकप फुटबल पहिलोपटक मध्य–पूर्वी राष्ट्रमा आयोजना हुन लागेकाले पनि यो क्षेत्रमा बढी चासो देखिन्छ । एसियामा नै आयोजना हुने यो दोस्रो विश्वकप हो ।

यसअघि, सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए ।

२२औँ संस्करणको विश्वकप पहिलो शीतकालीन पनि हो । सामान्यता गर्मी समयमा आयोजना हुने विश्वकप कतारको उच्च तापक्रमलाई मध्यनजर गर्दै जाडो मौसममा सारिएको हो । यस्तै थुप्रै विशेषताका साथ कतार विश्वकप केही पृथक बनेको छ।

यस्तो पृथक विश्वकपमा ‘द गोल्डेन बोई’ को अभाव भने महशुस हुनेछ । सन् १९८६ देखि २०१८ सम्मको विश्वकपलाई चर्चित बनाउन र मनोरञ्जन थप्न डिएगो म्याराडोनाले जानीनजानी योगदान गरेका थिए ।

सन् २०२०, नोभेम्बर २५ मा म्याराडोनाको निधनले विश्वलाई नै स्तब्ध बनायो । म्याराडोनाको उपस्थितिमा केही विश्वकप यादगार बनेका थिए ।

१९८६ विश्वकप

सन् १९८६ को विश्वकपले म्याराडोनालाई लेजन्डरी फुटबलरको रूपमा स्थापित गर्न निकै मद्दत गरेको थियो। यस विश्वकपमा सुरुवातमा अर्जेन्टिनाको टोलीले निकै नै निन्दा खप्नुपरेको थियो । त्यसमाथि कप्तानको जिम्मेवारीले म्याराडोनाले धेरै आलोचना पाए ।

सन् १९८२ को विश्वकपमा साविक विजेता अर्जेन्टिना समूह चरणबाट नै बाहिरिएको थियो । समूहमा अन्तिम हुँदै बाहिरिएको अर्जेटिनाको लागि यो ठूलो धक्का थियो । कार्लोस बिलार्डो अर्जेन्टिनाका मुख्य प्रशिक्षक थिए ।

डिफेन्सिभ रणनीतिको लागि चिनिने बिलार्डोबारे अर्जेन्टिनाको नकारात्मक टिपणी पनि थियो । उनले डेनियल पासरेलाको स्थानमा म्याराडोनालाई कप्तान बनाएका थिए । यसले उनको थप आलोचना भयो ।

यद्यपि, टोली भने विश्वकपको लागि तयार थियो । समूह चरणमा सन्तोषजनक प्रदर्शन गर्दै क्वार्टरफाइनल पुगेका अर्जेन्टिना र म्याराडोना भने इतिहास रच्ने क्रममा थिए ।
इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल १९८६ विश्वकपको सबैभन्दा चर्चित खेल बन्यो । खेल १–१ को बराबरीमा चलिरहेको थियो । ५१ औं मिनेटमा म्याराडोनाले मिड–फिल्डबाट आक्रामक रुपमा बललाई पोस्टतर्फ लगे।

इङ्ल्यान्डका मिडफिल्डर स्टिभ होजले क्लियर गर्न खोजेको बल पुनः आफ्नै गोल किपर तर्फ गयो। मौकाको फाइदा उठाउँदै डिफेन्डर पिटर सिल्टन सम्हालिनुभन्दा अगाडि नै म्याराडोनाले गोल गरे। उनले गोल गर्दा हत्केलाको प्रयोग गरेको न त रेफ्री न त लाइन्सम्यानले नै थाहा पाए ।

फलस्वरूप त्यसलाई गोल दिइएको थियो । सो गोललाई म्याराडोनाले नै ‘ह्यान्ड अफ गड’ भनेर ब्याख्या गरेका थिए । यस्तै, सेमिफाइनलमा उनले बेल्जियमविरुद्धको खेलमा ५२ औं र ६३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालार्ई २–० को जित दिलाउँदै अर्जेन्टिनालाई फाइनल पुर्‍याए।

फाइनलमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ को गोलअन्तरले पराजित गरर उपाधि जित्यो । म्याराडोनाले विश्वकपकोे ‘गोल्डेन बल’ पनि जिते । त्यसपछि उनको चर्चा संसारभरी नै चुलिएको थियो ।

१९९४ विश्वकप

चर्चा र विवादले म्याराडोनालाई पछ्याउँने गरेको थियो भन्दा फरक नपर्ला। यस्तै, चर्चा र विवाद म्याराडोनाले सन् १९९४ मा पनि बटुले । तर, नकरात्मक रुपमा ।
उनले सो विश्वकपमा केवल २ खेल खेले ।

मैदानमा उनले केवल १७३ मिनेट बिताए। पहिलो खेल ग्रिसविरुद्धको थियो। अर्जेन्टिनाले ग्रिसलाई ४–० गोलअन्तरले पराजित गरेको थियो। त्यस खेलमा म्याराडोनाले तेस्रो गोल गरेका थिए ।

दोस्रो खेल नाइजेरियाविरुद्ध थियो । सो खेल अर्जेन्टिनाले २–१ गोलअन्तरले जित्यो। म्यारोडोनाले स्वयम कुनै गोल नगरे पनि, उनले लिएको फ्रि–किकमा दोस्रो गोल भएको थियो ।

सो खेलपश्चात् एक नर्स र म्याराडोनाले हात समातेर मैदान छोडेका थिए। म्याराडोना खुसी नै देखिए। यसपश्चात् दुवै ‘ड्रग प्रशिक्षण कक्ष’ मा प्रवेश गरे। खेलको ४ दिनपश्चात् २९ जुनमा म्याराडोनाको डोपिङ टेस्ट पोजेटिभ आयो। उनको पिसाब परीक्षण गर्दा लागु औषध प्रयोग गरेको पाइयो ।

चिकित्सकका अनुसार म्याराडोनाले विभिन्न लागु पदार्थ मिसाएर सेवन गरिरहेको अनुमान गरेका थिए। म्याराडोनाले भने उनको दमको समस्या र राइनाटिसबाट राहत पाउन औषधि लिएको प्रस्टाएका थिए।

म्याराडोनाले विश्वकपको तयारीका लागि २६ पाउन्ड तौल घटाएका थिए। यसपश्चात् उनलाई विश्वकपबाट निलम्बित गरिएको थियो। फुटबलबाट भने उनलाई १५–महिनाको लागि प्रतिबन्ध लगाइयो ।

२०१० विश्वकप

सन् २०१० को विश्वकपमा मात्र नभई म्याराडोनाले छनोटबाट नै चर्चा बटुले। प्रशिक्षकको अनुभव नभएका म्याराडोनालाई राष्ट्रिय टोलीको जिम्मेवारी दिइयो । ‘राम्रो खेलाडी नै भएका कारण म्याराडोनाले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् त ?’ जस्ता प्रश्न उठेका थिए।

छनोट भएपश्चात् पनि म्याराडोनाले चर्चा बटुले। उनले मिडियाप्रति आक्रोशित रूपले अमर्यादित अभिव्यक्ति दिए। सो घटनापश्चात् फिफाले उनलाई २ महिनाको लागि निलम्बन गरेको थियो।

विश्वकपको लागि २३ सदसीय टोलीको नाम घोषणा गर्ने क्रममा म्याराडोनाले अर्को चटक देखाए। पत्रकार सम्मेलनमा १ घण्टा ढिला आइपुगे। एकजना क्यामेरा म्यानको खुट्टामा कुल्चिए र कुल्चिन सक्ने स्थानमा किन खुट्टा राखेको ? भन्दै चिच्याए।

म्याराडोनाले आम अपेक्षा बिपरितको टोली निर्माण गरेका थिए। यद्यपि, समूह चरणमा नाइजेरिया, दक्षिण कोरिया र ग्रिसलाई सहज रूपमा हराउँदै यो टिमले सबैलाई आश्चर्यमा पार्‍यो । यसक्रममा अर्जेन्टिनाले केवल १ गोल मात्रै खाएको थियो ।

क्वार्टरफाइनलअगाडि जर्मनका सेन्ट्रल मिडफिल्डर बास्टियन श्र्वाइनस्टाइगर र म्याराडोनाबीच तीतो अभिव्यक्ति आदनप्रदान पनि भएको थियो। त्यसबाट म्याराडोनामा अहम आएको देखियो ।

यो खेलमा अर्जेन्टिना ४–० को लज्जास्पद हार व्यहोर्दै क्वार्टरफाइनलबाट बाहिरिएका थियो। म्याराडोनाको प्रशिक्षण काल भने उनको खेल जीवन जस्तो सफल हुन सकेन।

२०१८ विश्वकप

म्याराडोना सन् १०१८ को विश्वकपमा पनि चर्चा बटुल्न सफल भए। समूह ‘डी’ को निर्णायक खेलमा अर्जेन्टिनाले जित निकाल्दै आगाडि बढ्यो। अर्जेन्टिनाले नाइजेरियालाई  पराजित गर्‍यो।

खेलको १४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लियो। सो खेलमा अर्जेन्टिनाको गोलसँगै म्याराडोनाले आकाशतर्फ हेर्दै गरेको एक चित्र निकै प्रसिद्ध भयो। कतिले उनको यस मुद्रालाई भगवानप्रतिको धन्यवादको रूपमा पनि लिएका थिए।

म्याराडोनाले सोही खेलमा आक्रोश पोख्न पनि भ्याए। उनले समर्थकमाथि अभद्ररूपले आक्रोश पोखेको चित्र पनि प्रसिद्ध भयो। अर्जेन्टिनाले खेल जितेपश्चात् नाइजेरियाका समर्थकमाथि उनले आक्रोश व्यक्त गरेका थिए।

साथै, सोही खेलपश्चात् म्यारोडोनाको हृदयाघातले मृत्यु भयो भनेर पनि व्यापक हल्ला चलेको थियो। यद्यपि, सबै कुरा झुटो सावित भयो । भएको के थियो भने पहिलो हाफपश्चात् उनको गर्दनमा समस्या आएको थियो ।

चिकित्सकले दोस्रो हाफअगाडि नै आराम गर्न जानू भनेर सल्लाह दिएका थिए। तर, म्याराडोना मानेनन् । उनले थोरै ह्वाइट वाइन पनि सेवन गरेका थिए। यससँगै खेल सकिएपश्चात् उनलाई सहारा दिएर लगिएको थियो।

म्याराडोना फुटबलका सर्वकालिन महान खेलाडी हुन् । उनको खेल कौशल अदभूद थियो । संसारभर उनका समर्थक पनि करौडौं थिए । तर उनी बारम्बार विवादमा पनि आइरहे । जसका कारण उनको सम्मानमै धक्का लाग्यो ।

यद्यपी अहिले पनि म्याराडोनाका फ्यानको संख्या भने कम छैन । उनै म्याराडोना आगामी विश्वकपमा भने देखिनै छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved