युएईविरुद्धको शृंखला नामिबिया जानुअघि अनुभव बटुल्ने अवसरः प्रशिक्षक प्रभाकर

नेपालभ्युज

युएईविरुद्धको शृंखला नामिबिया जानुअघि अनुभव बटुल्ने अवसरः प्रशिक्षक प्रभाकर

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमवारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको श्रृंखला अघिको पत्रकार सम्मेलनमा उनले  विश्वकप खेलेर फर्किएको टोली युएईसँग खेल्ने अवसर र चुनौति दुवै रहेको बताए । उनले युवा खेलाडीको बाहुल्यता भएको टोलीले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे । युएईसँग खेल्न पाउनु लिग–२ को श्रृंखला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको बताए।  नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै उनले खुशी व्यक्त गरे ।

‘युएईसँग घरेलु मैद्यानमा खेल्नु चुनौति र अवसर दुवै हो । हामीसँग युवा खेलाडीको बाहुल्यता छ । हरेक दिन सुधार हुँदै गइरहेको छ । राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छु,’ प्रभाकरले पत्रकार सम्मेलनमा भने ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ । खेलको अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले राम्रो खेलेर श्रृंखला आफ्नो पक्षमा पार्ने बताए । नेपाली टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटबाट खेलाडीलाई अभ्यास पुगेको भन्दै युएईसँगको खेल राम्रो हुने अपेक्षा राखे।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अघि विश्वकप खेलेको टोलीसँग अनुभव सगाल्ने राम्रो अवसर भएको उनले बताए ।

यस्तै युएई टोलीका कप्तान सिपी रिजवानले नेपाल भ्रमण यसअघि पनि गरिरहेको र केही खेलाडीमा नेपालको प्रतियोगितासँग अनुभव भएको भन्दै प्रतिष्पर्धात्मक खेल हुने धारणा राखे । उनले घरेलु टोलीसँग राम्रो खेलेर श्रृंखलाको उपाधि लगेर जाने खेल अघिको पत्रकार सम्मेलनमा बताए ।

भ्रमणकारी युएईसँगको खेलका लागि शुक्रवार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । उता युएईले पनि नेपाल भ्रमणका लागि कार्तिक २६ गते नेपाली भूमीमा केही प्रतियोगिता खेलेर अनुभव बटुलेका रोहन मुस्ताफालाई समेट्दै १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो ।

यस्तै क्यानले युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि टिकट मूल्य पनि तय गरेको छ । क्यानले सिरिजको टिकट मूल्य २ सय राखेको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला अन्तर्गत सोमवार पहिलो खेल खेल्दैछ । यस्तै दोस्रो खेल बुधवार र तेस्रो खेल शुक्रवार हुने तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved