मतदाता शिक्षा कार्यक्रममा कठिनाइ भएको गुनासो

नेपालभ्युज

काठमाडौं। मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरूले आफूहरूलाई काम गर्न कठिन भइरहेको बताएका छन्। आइतबार बिहान काठमाडौंको नक्सालमा घरदैलो गरिरहेका उनीहरूले परिचय पत्र नभएको कारण आफूहरूलाई मतदाता शिक्षा दिने काममा कठिनाई भइरहेको प्रतिक्रिया दिएका हुन्।

तत्काल सो परिचय पत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउने काममा सहयोग गर्न उनीहरूले निर्वाचन आयोगसँग माग समेत गरेका छन्। परिचय पत्र नभएकाले आफूहरूलाई मतदाताहरूले घरको गेटसमेत नखोलिदिने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १ की महिला स्वास्थ्य स्वयमसेविका शर्मिला मानन्धरले प्रतिक्रिया दिइन्।

उनले परिचय पत्रको अभावमा काम गर्न कठिनाई भएको उल्लेख गर्दै तत्काल परिचय पत्रको व्यवस्था गरिदिन पनि निर्वाचन आयोगसँग माग गरिन्। मतदाताहरूमा भोट हाल्न जाने कुरामा उदासिनता पाइएको पनि महिला स्वास्थ्य स्वयमसेविकाहरूको बुझाई छ। भोट होलेर के हुन्छ? भनेर मतदाताहरू मत हाल्न नै अनिच्छुक देखिएको पनि महिला स्वास्थ्य स्वयमसेविका मानन्धरले बताइन्। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरूमा संचालन गर्ने जिम्मेवारी दिएको छ।

जस अनुसार वडा सचिवको नेतृत्वमा बनाइएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरू घरघरमा पुगिरहेको काठमाडौं महानगरपालिका वडा नम्बर १ का सहायक वडा सचिव सर्वज्ञराज पौडेलले जानकारी दिए। मतदाता शिक्षा कार्यक्रम देशभर गत कात्तिक १८ गतेबाट सुरु भएको छ। यो कार्य मंसीर १ गतेसम्म चल्ने पनि सहायक वडा सचिव पौडेलले बताए। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब एक हप्ता मात्रै बाँकि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved