यी स्टार खेलाडीका लागि अन्तिम हुनेछ कतार विश्वकप

कति खेलाडीको लागि यो पहिलो विश्वकप हुनेछ भने कतिपयका लागि यो अन्तिम हुनेछ । उमेर र प्रदर्शनका आधारमा अन्तिम विश्वकप खेल्न लागेका स्टार खेलाडीको सूची यस्तो छ :

नेपालभ्युज

यी स्टार खेलाडीका लागि अन्तिम हुनेछ कतार विश्वकप

‘फिफा विश्वकप–२०२२’ आउन १० दिनभन्दा कम समय बाँकी छ । सहभागी ३२ राष्ट्र प्रतिस्पर्धाको अन्तिम तयारीमा छन् । कति खेलाडीको लागि यो पहिलो विश्वकप हुनेछ भने कतिपयका लागि यो अन्तिम हुनेछ । उमेर र प्रदर्शनका आधारमा अन्तिम विश्वकप खेल्न लागेका स्टार खेलाडीको सूची यस्तो छ ।

क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका स्टार रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुनेछ । त्यसको मुख्य कारण हो उनको उमेर । रोनाल्डो अहिले ३७ वर्षका भइसकेका छन् । अर्को विश्वकपसम्म उनी ४१ नाघिसकेका हुनेछन् । पछिल्लो समय उनको लय पनि पहिलेजस्तो देखिदैन ।

 

रोनाल्डोले आगामी विश्वकपका बारेमा केही नबोलेपनि युरोकप २०२४ सम्म भने रहने मनसाय व्यक्त गरेका छन् । रोनाल्डोले पोर्चुगलका लागि १८१ खेलमा ११७ गोल गरिसकेका छन् । रोनाल्डोका लागि यो पाँचौ विश्वकप हुनेछ ।

उनकै कप्तानीमा पोर्चुगलले २०१६ को युरोकप जितेको थियो । गत वर्ष इरानका अली दाइको कीर्तिमान तोड्दै रोनाल्डोले ‘सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता’ को कीर्तिमान बनाएका थिए । रोनाल्डोले पाँचपटक बालोन डी’ओरको उपाधि जितिसकेका छन् ।

लिओनेल मेस्सी

अर्जेन्टिनाका स्टार खेलाडी लिओनेल मेस्सीको पनि यो अन्तिम विश्वकप हुनेछ । ३५ वर्षका मेस्सीले कतार विश्वकप नै अन्तिम हुने प्रस्ट्याइसकेका छन् । मेस्सीले एक अन्तवार्तामा ‘निश्चित रूप’मा अन्तिम विश्वकप हुने बताएका थिए ।

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेस्सीले अर्जेन्टिनाका लागि कुल १६४ खेलमा ९० गोल गरेका छन् । उनका लागि कतार विश्वकप पाँचौ सहभागिता हुनेछ ।

सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई उनले उपविजेता बनाएका थिए  भने सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जिताएका थिउ । उनले अर्जेटिनाका लागि १६४ खेलमा ९० गोल गरेका छन् । मेस्सीले ७ पटक बालोन डी’ओरको उपाधि जितेका छन् ।

पेपे

रियल मड्रिडका पूर्व सेन्टर ब्याक पेपेको पनि कतार विश्वकप अन्तिम हुनेछ । सन् २००७ मा पोर्चुगलको लागि खेल्ने सुरु गरेका पेपेको यो चौथो विश्वकप हो । पेपे मैदानमा हुने विवादका कारण बेला-बेला चर्चामा आउने गर्दछन् ।

३९ वर्षीय पेपेले १२८ खेलमा सहभागिता जनाएका छन् । उनले पोर्चुगलको लागि ७ गोल गरेका छन् ।

लुका मोड्रिच

सन् २००६ मा नै रोनाल्डो र मेस्सीसँगै विश्वकप फुटबलमा डेब्यू गरेका लुका मोड्रिचको पनि यो अन्तिम विश्वकप हो । सन् २०१८ को विश्वकप फाइनलमा क्रोएसियालाई फाइनल पुर्‍याउन मिडफिल्डर मोड्रिचले मुख्य योगदान पुर्‍याएका थिए । उत्कृष्ट खेलाडी बनेका मोड्रिचले गोल्डेन बल पनि जिते ।

उनी अहिले ३७ वर्षका भइसकेका छन् । फर्म पनि पहिले जस्तो देखिएको छैन ।

दानी अल्वेस

दानी अल्वेस ब्रजिलको टोलीमा परेका छन् । धेरैलाई उनको उपस्थिति आश्चर्यजनक लागेको छ । ३९ वर्षीय अल्वेसलाई रणनैतिक र प्राविधिक दक्षताका कारण टोलीमा राखिएको छ।

ब्राजिलको लागि १२४ खेल खेलेका अल्वेस टोलीका सबैभन्दा पाका खेलाडी हुन् । घुँडामा चोट लागेका कारण उनी उपचारको क्रममा छन् । दानीको लागि यो अन्तिम विश्वकप हो ।

थियागो सिल्भा

ब्राजिलका सेन्ट्रल डिफेन्डर थियागो सिल्भाका लागि पनि यो विश्वकप अन्तिम हो । ३८ वर्षीय चेल्सीका डिफेन्डर तथा ब्राजिलका कप्तान सिल्भाले यस सहभागितालाई यादगार बनाउने बताएका छन् ।

सन् २०२१ को कोपा अमेरिकामा पनि सिल्भा कप्तानको भूमिकामा थिए । सिल्भाले १०८ खेलमा ब्राजिलको लागि प्रतिनिधित्व गरिसकेका छन् ।

म्यानुअल नेउर

जर्मनी तथा बायर्न म्युनिखका गोलकिपर म्यानुअल नेउरले पनि यो विश्वकप आफ्नो अन्तिम हुने अभिव्यक्ति दिइ सकेका छन् । यो उनको चौथो विश्वकप हो ।


सन् २०१४ मा उनी सहितको जर्मनीले विश्वकप जितेको थियो । जर्मनको कप्तानसमेत रहेका ३६ वर्षीय नेउरले ११३ खेल खेलेका छन् ।

लुइस सुआरेज

भरपर्दो स्ट्राइकरको सूचीमा लुइस सुआरेजको नाम पनि पर्दछ । उरुग्वेका यि स्टारका लागि पनि कतार विश्वकप अन्तिम हुनेछ ।

३५ वर्षीय सुआरेज पछिल्लो पटक खराब फर्मबाट गुज्रिरहेका छन् । उनले उरुग्वेका लागि १३४ खेलमा ६६ गोल गरेका छन् । सुआरेजले सन् २०१० मा पहिलो विश्वकप खेलेका थिए ।

रोबर्ट लेवान्डोस्की

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको लागि पनि यो अन्तिम विश्वकप हुन सक्नेछ ।उनले पोल्यान्डका लागि १३४ खेलमा ७६ गोल गरेका छन् । यसै सिजन बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्की लयमा नै देखिन्छन् ।

३४ वर्षीय लेवान्डोस्कीले अब अर्को विश्वकपसम्म स्थान बनाउन भने गाह्रो छ । उनले केही दिनअघि मात्र सन् २०२१–२२ का लागि आफ्नो दोस्रो गोल्डेन बुट जितेका थिए ।

करिम बेन्जेमा

सन् २०२२ का बालोन डी’ओर उपाधि विजेता करिम बेन्जेमाको पनि कतार विश्वकप अन्तिम हुने सम्भावना छ । ३४ वर्षीय बेन्जेमाले चोटका कारण लालिगामा धेरै खेल गुमाएका थिए ।

यद्यपि, विश्वकपको लागि स्वस्थ भएका करिमले फ्रान्सको टोलीमा स्थान बनाइसकेका छन् । करिमले फ्रान्सको लागि ९७ खेलमा ३७ गोल गरेका छन् । सन् २००७ मा करिमले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले अस्ट्रियाविरुद्धको खेलमा पहिलो गोल गरेका थिए।

एन्जेल डि मारिया

सन् २०२१ मा कोपा अमेरिकाको फाइनलमा ब्राजिलविरुद्ध  निर्णायक गोल गर्दै  एन्जेल डि मारियाले अर्जेन्टिनालाई उपाधि जिताएका थिए । सन् २०१४ को विश्वकपमा मारिया घाइते भएका थिए ।

विङ्गर र आक्रामक मिड–फिल्डरका रूपमा प्रसिद्ध मारियाले सन् २०१० मा विश्वकपमा डेब्यू गरेका थिए । यूभेन्टससँग जोडिएका ३४ वर्षीय मारिया कतार विश्वकपको लागि लयमा नै देखिन्छन्। तथापि, मारियाको  पनि यो अन्तिम विश्वकप हुनेछ ।

थोमस मुलर

सन् २०१० को विश्वकप जर्मनीका थोमस मुलरको लागि पहिलो स्पर्धा थियो । सो विश्वकपमा अस्ट्रेलियाविरुद्धको खेलमा उनले पहिलो गोल गरे । इङ्ल्यान्डविरुद्धको खेलमा थप दुई गोल गरेका थिए ।

यसले उनलाई जर्मनी फुटबल टोलीको भरपर्दो खेलाडीको रूपमा स्थापित गर्‍यो । मुलरसहितको जर्मन टोलीले सन् २०१४ को विश्वकप जित्यो । उनले जर्मनीको लागि ११८ खेलमा ५५ गोल गरेका छन् । चौथो विश्वकप खेल्न लागेका ३३ वर्षीय मुलरको पनि यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved