सल्यानमा बजार अनुगमन, म्याद गुज्रेका सामग्री बरामद

सल्यानमा बजार अनुगमन, म्याद गुज्रेका सामग्री बरामद

सुर्खेत। चाडपर्वको समयमा उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री हुन सक्ने विषयलाई ध्यानमा राख्दै सल्यानका विभिन्न बजारहरूको अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानको संयोजनमा जिल्लास्थित नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले बजार अनुगमन गरेको हो ।

हालसम्म एक लाख ४६ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कपुरकोट, लुहाम र लान्ती बजार अनुगमन गरिएको सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।

बुधबार मात्रै १८ वटा पसलमा अनुगमन भएको छ । सो क्रममा १६ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको खड्काले बताए । यसअघि जिल्लाका अन्य बजारहरूबाट एक लाख ३० हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।

जिल्लाको थारमारे, बागचौर, ढोरचौर, श्रीनगर, सल्लीबजार लगायतका बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अधिकांश पसलमा मूल्यसूची नराखेको, म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवसाय नवीकरण नगरेको पाइएको थियो ।

‘बिल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित नगरेको, सबै किसिमका सामग्री एकै ठाउँ राखिएको तथा सरसफाइमा पनि ध्यान नदिएको पाइयो,’ खड्काले भने, ‘हामीले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न र अन्य आवश्यक सुझाव पनि दिएका छौं ।’

अनुगमन टोलीले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved