युक्रेनमा स्टारलिङ्कलाई अनिश्चितकालका लागि लगानी गर्न सकिँदैन : इलोन मस्क

नेपालभ्युज

युक्रेनमा स्टारलिङ्कलाई अनिश्चितकालका लागि लगानी गर्न सकिँदैन : इलोन मस्क

वासिङ्टन । स्पेस–एक्सले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार बताएका  छन् ।

अमेरिकी सेनाले प्रमुख नेटवर्कका लागि लगानीबारे अर्बपतिको कम्पनीसँग कुराकानी गरिरहेको पुष्टि गरेको छ । मस्क र युक्रेनी नेताहरूबीचको विवाद सार्वजनिक रूपमा बाहिरिएपछि यो छलफल भएको हो । युक्रेनी नेताहरू क्रिमियामाथिको रूसी सार्वभौमिकतालाई स्वीकार गर्ने उनको विवादास्पद योजनाबाट क्रुद्ध भएका थिए ।

मस्कले गत हप्ता दिएको अद्यावधिक तथ्याङ्कअनुसार, पृथ्वीको तल्लो कक्षमा तीन हजारभन्दा बढी साना उपग्रहहरूको तारामण्डल स्टारलिङ्क, युक्रेनको सञ्चारको लागि महत्वपूर्ण रहेको छ किनकि यसले रूसको आक्रमणविरुद्ध लडिरहेको छ । स्पेसएक्सले लगभग २५ हजार ग्राउन्ड टर्मिनलहरू निशुल्करूपमा उपलब्ध गराउँदै आएको छ ।

आफ्नो आर्थिक सहयोग समाप्त हुने र सेनाले खर्च गर्नुपर्ने मस्कको चेतावनीबारे सीएनएनको एक रिपोर्टलाई पुष्टि गर्दै उनले ट्वीटको शृङ्खलाबद्ध रूपमा सूचनाहरू जारी गरेका छन् ।

‘स्पेसएक्सले विगतको खर्च फिर्ता गर्न भनिरहेको छैन, तर विद्यमान प्रणालीलाई अनिश्चितकालका लागि कोष दिन सक्दैन र सामान्य घरपरिवारभन्दा १०० गुणा बढी डाटा प्रयोग हुने हजारौं टर्मिनलहरू पठाउन सक्दैन,’ उनले ट्वीटरमा लेखेका छन् ।

उनले भने, ‘यो अनुचित छ ।’ मस्कका अनुसार यो अपरेसनमा स्पेसएक्सलाई आठ करोड अमेरिकी डलर खर्च भइसकेको छ र यो वर्षको अन्त्यसम्ममा १० करोड डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

तर सीएनएनका अनुसार स्पेसएक्सले पेन्टागनलाई दिएको तथ्याङ्कअनुसार युक्रेनमा पहिलो २०,००० टर्मिनलमध्ये करिब ८५ प्रतिशतमा संयुक्त राज्य अमेरिका, पोल्याण्ड वा अन्य संस्थाहरूले कम्तिमा आंशिक रूपमा भुक्तानी गरेका थिए ।

पेन्टागनका सञ्चार उप–सचिबसबरीना सिंहले शुक्रबार अमेरिकी रक्षा मन्त्रालय मस्कसँग आर्थिक सहयोगका विषयमा सम्पर्कमा रहेको बताएका छन् ।

सिंहले भने, ‘हामी पुष्टि गर्न सक्छौं कि विभागले स्पेसएक्सबाट युक्रेनमा उनीहरूको उपग्रह संचार उत्पादन कोषको बारेमा पत्राचार प्राप्त गरेको छ । हामी यस र अन्य विषयमा स्पेसएक्ससँग सम्पर्कमा छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved