भुसालको अर्थ तथा योजना विभागका सचिव शाहीले पनि एमाले छाडे

नेपालभ्युज

भुसालको अर्थ तथा योजना विभागका सचिव शाहीले पनि एमाले छाडे

काठमाडौं। नेकपा एमालेमा घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागका सचिव योगेन्द्र बहादुर शाहीले पनि पार्टी परित्याग गरेका छन्।

विभागका प्रमुख भुसालले पार्टी परित्यागको घोषणा गरेकै दिन शनिबार सचिव शाहीले पनि पार्टी छोड्ने घोषणा गरेका हुन्। शाहीले विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्,’एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिने देखि अझ पछिल्लो अवधिमा क. भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो।’

पार्टीले टिकट नदिएपछपि भुसालले सामाजिक सञ्जाल्मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीका कट्ठर आलोचक भुसाललाई ओलीले टिकट दिन बञ्चित गरेका छन्।

यस्तो छ शाहीको विज्ञप्ति

प्रेस विज्ञप्ति

सानै उमेरदेखि लोकतान्त्रिक वामपन्थी आन्दोलनमा होमिएको मेरा लागि यही आन्दोलनमार्फत् नेपालको स्वाभिमान, राष्ट्रियता, समृद्धि र समानता हासिल गर्न सकिन्छ भन्ने अगाध विश्वास रहेको छ । यही भएर नै हामी लोकतन्त्रका लागि लड्दै कम्युनिस्ट आन्दोलन एकिकृत हुन पर्दछ भनी मूल प्रवाहमा समाहित भएका थियौं । बिभिन्न बेलामा वामपन्थीहरु र प्रजातान्त्रिक शक्तिहमाझ देखा परेका विभाजनका कारण नेपालले निरन्तर राजनीतिक अस्थिरता भोगी समानता, न्याय, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको आन्दोलन कमजोर भएको दृश्य हाम्रा अगाडि ताजै छ । लाखौं इमान्दार कार्यकर्ताको रगत र पसिनाबाट नै हरेक प्रगतिशिल आन्दोलनको आत्मा तयार हुन्छ । तर जब जब सत्ता र शक्तिका लागि नेतृत्व र पार्टीले आन्दोलनको मर्म, सिद्धान्त, कार्यकर्ताको रगत, पसिना र आँसु विर्सन्छ, यही विन्दूबाट चरम गुटबन्दी, सत्ता मोहका कारण हतकन्डाहरु, विचारविहिनता र सिद्धान्तविहिनताको परकास्टा शुरु हुन्छ ।

हामीले एकिकृत नेकपाको पुनर्गठनले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र आम समानता ल्याउने अपेक्षा गरेका थियौं । अन्तरपार्टी सघर्षलाई लिएर पटक पटर गैर जिम्मेवार तवरले गरिएको संसद विगठन जस्तो कार्यप्रति असहमति हुँदा हुँदै पनि पार्टीलाई सकभर विभाजन नगरौं भन्ने मनसायले १० बुँदे सम्बद्ध नेता र कार्यकर्ताहरु एमालेमै उभिन पुगेका थिए । तर पनि नेकपा एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिने देखि अझ पछिल्लो अबधिमा क. भिम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । नेकपा एमालेमा देखिएका यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमालेमा विवेक, चिन्तन र स्वतन्त्रता हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।

तरपनि नेपालमा वाम प्रजातान्त्रिक आन्दोलनलाई अझ बलियो र शसक्त बनाउन नेकपा एमाले, नेकपा माओवादी लगायत सबै कम्युनिस्टका साथै नेपाली कँग्रेस लगायत प्रजातान्त्रिक पार्टीमा रहेका सहयोद्धाहरुसँग सहकार्यलाई निरन्तरता राख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु । देश र जनताको प्रगति र अग्रगमनका लागि हाम्रो अथक प्रयास र एक्यवद्धता निरन्तर जारी रहने नै छ ।
योगेन्द्र बहादुर शाही
सचिव
नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभाग
२०७९ असोज २२


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved