दुई महिनासम्म सिट बाँडफाँट टुंगिएन, टिकट लिएर कहिले जिल्ला पुग्ने उम्मेदवार?

नेपालभ्युज

दुई महिनासम्म सिट बाँडफाँट टुंगिएन, टिकट लिएर कहिले जिल्ला पुग्ने उम्मेदवार?
फाइल तश्वीर

काठमाडौं। उम्मेदवारको मनोनयन दर्ता गर्ने समय आउन चार दिनमात्रै बाँकी रहँदापनि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन्।

सरकारले मंसिर ४ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेलगत्तै सिट बाँडफाँटबारे छलफल थालेका सत्ता गठबन्धनका दलहरूले अहिलेसम्म उउक्त विषय टुंगोमा पर्‍याउन नसकेका हुन्।

सरकारले निर्वाचनको मिति तोकेको आज ठिक दुई महिना पुगेको छ। साउन १९ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको थियो। साउन २० गते नै सत्ता गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्ने निर्णय गरेका थिए।

त्यसयता लगातार रुपमा छलफलमा जुटेका दलहरूले अझै सिट बाँडफाँट टुंग्याउन सकेका छैनन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनहुँजसो नेताहरू छलफल गर्छन् तर टुंगोमा पुग्न सक्दैनन्।

गठबन्धनको सामूहिक हितभन्दा पनि आफ्नो दलले कसरी बढीभन्दा बढी सिट हात पार्न सकिन्छ भन्ने ध्याउन्नमा दलहरू लागेका देखिन्छन्। जसका कारण दुई महिना लामो छलफल तथा कार्यदलले गरेको मिहेनत को परिणाम देखिनेगरी आउन नसकेको हो।

सिट बाँडफाँट टुंग्याउन दलहरूले कार्यदल नै गठन गरेर गृहकार्य गरेका थिए। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउँदै बाँकी काम टुंग्याउने जिम्मा पनि शीर्ष नेताहरूलाई नै दिएको थियो।

गठबन्धनको नेतृत्व गर्ने दल नेपाली कांग्रेसलाई कसरी कमभन्दा कम सिटमा सीमित पार्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको अरु दलहरू देखिन्छन्। प्रतिनिधिसभाका १६५ सिटमध्ये एक सय सिटमा दाबी गरिरहेको कांग्रेस ८५-८६ सिटमा चित्त बुझाएर बाँकी सिटमा अरु दललाई मिलाउन तयार देखिन्छ।

दलहरूले पाउने सिट संख्यामा मोटामोटी सहमति भइसकेपनि केही क्षेत्रमा दलहरूको दोहोरो तेहरो दाबी कायमै रहेकाले सिट बाँडफाँट नटुंगिएको नेताहरूले बताएका छन्। सिट संख्याकै विषयलाई लिएर सत्ता गठबन्धनका पाँच दलबीच खटपट सुरु भएको छ। बाँडफाँटमा कांग्रेस माओवादी सहमति नजिक देखिए पनि एकीकृत समाजवादी र जसपालाई मिलाउन चुनौती देखिएको छ।

खटपटकाबीच पनि दलहरू निरन्तर छलफलमा छन्। आज दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ। गठबन्धनको एक घटक जनता समाजवादी पार्टीले बाँडफाँटको प्रस्तावमा असन्तुष्टि जनाउँदै सत्तामा नरहेका दलहरूसँग पनि तालमेल हुन सक्ने चेतावनी दिएको छ।

सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धनका २ दुई दल कांग्रेस र जसपाबीच विवाद चर्किएको छ। मधेसमा आफू बलियो रहेको यी दुवैको दाबी छ। २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टी निर्वाचित भएको धनुषा २ र सर्लाही २ मा कांग्रेसले दाबी गरेको छ।

अघिल्लो चुनावमा नै जसपाले जितेका पर्सा १,२ र ३ तथा सप्तरी १, २ र ३ मध्ये दुवै जिल्लाका कम्तीमा एक एक निर्वाचन क्षेत्र पनि जसपाले छाड्नुपर्ने कांग्रेसको प्रस्ताव छ। गठबन्धनको अर्को घटक माओवादी केन्द्रले पनि जसपाले जितेका केही क्षेत्रमा आँखा लगाएको छ। यस्तै अछाम-१ मा पनि तीनवटै दलको दाबी कायमै छ।

यहाँ समाजवादी र माओवादी दुबै पार्टीले दाबी कायमै राखेका छन्। नेपाली कांग्रेस भने अछाम-१ पनि नछोड्ने अडान लिएर बसेको बुझिएको छ। सिट बाँडफाँट मिलाउन छलफल भइरहेकाले जसपा गठबन्धनबाट भाग्न नसक्ने कांग्रेसको बुझाइ छ। कांग्रेसले जसपाको असन्तुष्टिलाई घुर्कीको रुपमा लिएको कांग्रेसका एक नेताले बताए।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको कार्यदलका एक सदस्यले बताए। अधिकांश क्षेत्रमा सहमति भइसकेको र केही क्षेत्रमा दोहोरो तेहरो दाबी रहेकाले टुंग्याउन केही ढिलाई भएको ती नेताको भनाई छ।

गठबन्धनलाई आज जसरी पनि सिट बाँडफाँट टुंग्याउनु पर्ने दबाब छ। गठबन्धनले सिट बाँडफाँटको विषय टुंगोमा पुर्‍याउन जति ढिलाई गर्छ त्यति नै समस्या दलहरूलाई आफ्नो पार्टीमा टिकट वितरणमा आउने देखिन्छ। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेयले गठबन्धनले सिट बाँडफाँटको टुंगो आज जसरी पनि लगाउनुपर्ने दबाब रहेको बताए।

‘नोमिनेसनको समय आइसक्यो गठबन्धनमा कुन क्षेत्र कुन पार्टीले पाउने भन्ने अझै टुंगो लागेको छैन। यसले गर्दा पार्टीलाई उम्मेदवारका बारेमा छलफल गर्ने प्रसस्त समय नै बाँकी रहेन’, पाण्डेयले नेपाल भ्युजसँग भने,’सिट बाँडफाँटको विषय आजै टुंग्याउनुको विकल्प छैन।’

कांग्रेसले उम्मेदवारबारे छलफल गर्न भोलि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको उनले जानकारी दिए। २३ गते मनोनयन दर्ताको समय तोकिएकाले २१ गतेसम्म टिकट वितरण टुंग्याउनु पर्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved