माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

नेपालभ्युज

माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद नदोहोर्‍याउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबर बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने निर्णय गरेको हो ।

बैठकले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई समानुपातिकमा प्राथमिकता नदिने र बन्दसूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेको हुनुपर्ने  निर्णय गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका  अनुसार बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्न सम्बन्धित प्रदेशले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको थियो । बैठकले समिति प्रमुखको उपस्थितिमा थप छलफल गरि अन्तर्घातमा संलग्नलाई आवश्यक कारबाही गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलका बीचमा सकारात्मक छलफल भएको जानकारी गराएका थिए । समानुपातिक प्रतिनिधित्व सूची पेश गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठक बसी क्षेत्र बाँडफाँट टुङ्ग्याउने समझदारी बनेको उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved