मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ : महासचिव पोखरेल

नेपालभ्युज

मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । डडेलधुरामा शनिबार आयोजना गरिएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

पाँच दलीय गठबन्धन लेनदेन र स्वार्थको सम्झौता भएको बताउँदै महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिबिना मुलुकले स्थायित्व प्राप्त गर्न नसक्ने र विकासले गति नलिने बताए ।

उनले भारतले वर्षाैंदेखि नेपाली भूमि कब्जा गर्दै आएको विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँंग कालापानी र लिम्पियाधुरा तत्काल छोड्न भनेपछि चौतर्फी रुपमा एमाले नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको बताए ।

उनले नेपाली भूमि समेटिएको चुच्चे नक्शा प्रकाशित गरी संविधानको अनुसूचिमा राखिएको चर्चा गर्दै निर्वाचनपछि बन्ने एमालेको सरकारले नेपाली भूमि फिर्ता लिने बताए ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा एमाले पहिलो शक्ति भएको भन्दै उनले केही ठाउँमा पार्टिभित्रकै अन्तर्घातका कारण पराजित हुनुपरेकोमा  समीक्षा भइरहेको बताउँदै उनले पार्टीबाट अलग्गिएका नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमा रहेकाहरुलाई पार्टीमा फर्काउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने गरी अघि बढिरहेकाले सबै नेता कार्यकर्ताहरू एकताका साथ निर्वाचनमा लाग्न आग्रह गरे ।

उनले ओलीको नेतृत्वमा भएका विकास निर्माणदेखि राष्ट्रियताका विषयमा गरेका काम जनतामा जस्ताको त्यस्तै  पुर्‍याउनु पर्ने भन्दै वर्तमान गठबन्धन सरकारले गरेका राष्ट्रघाती एमसिसी, नागरिकता विधेयक र कोरोना नियन्त्रणका नाममा गरेको भ्रष्टाचारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा, विक्रम शाही, एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साँउद लगायतले बोलेका थिए । महासचिव पोखरेलले नेकपा (एमाले) डडेल्धुराको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved