गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

कास्की  ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय ह्याण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ । पोखरा रङ्गशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा आज सम्पन्न भएको फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो ।

महिलातर्फको ह्याण्डबल खेलमा कास्कीले बागलुङलाई दुई का विरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । यसैगरी पुरुषतर्फ कास्कीले बागलुङकै टोलीलाई ९-२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । विजयी खेलाडीको टोलीलाई एक समारोहबीच ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । केही दिनभित्रमै राष्ट्रिय खेलकुदका लागि प्रदेशको टोली घोषणा गरिने कास्की जिल्ला ह्याण्डबल सङ्घका अध्यक्ष चित्रबहादुर थापाले बताए । प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ भने चार जिल्लाको सहभागिता थियो ।

खो खोमा पुरुषतर्फ नवलपुर प्रथम

गण्डकी प्रदेशस्तरीय खो खो छनौट प्रतियोगितामा पुरुषतर्फ नवलपुर प्रथम भएको छ । पोखरामा आज भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई तीन अङ्कको अन्तरले पछि पार्दै प्रथम भएको हो । प्रतियोगितामा नवलपुरले १८ अङ्क ल्याउदा कास्कीले भने १५ अङ्क प्राप्त गरेको थियो । प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको प्रशिक्षक विशाल गुरुङले बताए । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट गरिएको छ ।

छनौट हुने खेलाडीहरुमा नवलपुरबाट सागर परियार, मौसम महतो, सुमिर श्रेष्ठ, शङ्कर रिजाल, सुनिल थापा मगर, सुरेन्द्र महतो छन् । गोरखाबाट देवबहादुर गुरुङ र राचेशनी राना रहेका छन् । कास्कीबाट विवस परियार, रोविन अधिकारी, शिवस टडाल, जोयल तामाङ रहेका छन् । वैकल्पिक खेलाडीमा गोरखाबाट स्वस्तिक बस्नेत र नरेश धामी टोलीमा परेका छन् । टिम व्यवस्थापकमा सुरज पोखरेल छन् । महिलातर्फ भने कास्की र नवलपुरबीचको खेल बराबरीमा टुङ्गिएको छ । निर्धारित समय ९\९ मिनेटको खेलमा दुबै तर्फ १५\१५ स्कोरले खेल बराबरीमा पुगेपछि २\२ मिनेटको खेल अतिरिक्त समयमा पनि दुवैतर्फ ३\३ स्कोर भएसँगै खेल बराबरीमा सकिएको हो ।

महिलातर्फ प्रतियोगितामा तीन जिल्लाबाट खेलाडीहरु सहभागी भएको प्रशिक्षक बिशालजङ्ग कुंवरले बताए । प्रदेशको तर्फबाट छनोट भएका खेलाडीमा कास्की र नवलपुरबाट छ/छ  जना छनोटमा परेको व्यवस्थापक सुरज पोखरेलले बताए । राष्ट्रियमा छनोट  भएका खेलाडीमा कास्कीका सृष्टि पौडेल, सुजना कुँवर, भिमसरा रोका, ममता अधिकारी, सजिता सुनार र अञ्जली भुजेल रहेका छन् । यसैगरी नवलपुरका महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियङ्का महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ टोलीमा परेका छन् । वैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरका सलिना सेढाइँ छन् ।

जिम्न्याष्टिक खेलाडी छनोट

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको जिम्न्याष्टिकका खेलाडी छनोट गरिएको छ । पोखरा रङ्गशालामा आज सञ्चालन भएको छनोट प्रतियोगिताबाट प्रदेशको पुरुष तथा महिलाको अन्तिम टोली घोषणा गरिएको हो । छनोट हुन सफल खेलाडीमा पुरुषतर्फ रोशन पुन, विशाल पुन, प्रबल गुरुङ, विजय विश्वकर्मा, सरोज थापा र मियोन गुरुङ छन् । यसैगरी महिलातर्फ सीताकुमारी खड्का, सुभी भासिम, गीता साउद, कृति खत्री, करुण लामा र दूधकला साउद छन् । योगेन्द्र गुरुङ, रविन्द्र तजजिया, सोमबहादुर शाही र विजेन्द्र श्रेष्ठ रहनुभएको निर्णायक मण्डलले खेलाडी छनोट गरेको प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले जानकारी दिए ।

नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेख खेलकुद परिषद्ले भदौ १६ देखि पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रदेशका ११ वटै जिल्लाबाट छनोट भएका खेलाडीका बीचमा प्रतिस्पर्धाका माध्यमबाट राष्ट्रियका लागि प्रदेशको टोली घोषणा गरिने परिषद्ले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved