देशभरका कुष्ठ रोगी मध्ये मधेश प्रदेशमा मात्र ४५ प्रतिशत

देशभरका कुष्ठ रोगी मध्ये मधेश प्रदेशमा मात्र ४५ प्रतिशत

जनकपुरधाम । नेपाल सरकारले लिएको कुष्ठरोग उन्मूलनको नीति कार्यान्वयन गर्नमा कठिनाई भएको छ।

मधेश प्रदेश  स्वास्थ्य निर्देशनालयद्वारा  बिहिबार जनकपुरधाममा आयोजीत कार्यक्रममा मधेश प्रदेशको जिल्लाहरूमा प्रभावकारी कुष्ठ रोगको खोजतलास तथा उपचार नगरेको खण्डमा नेपाल सरकारले लिएको कुष्ठरोग उन्मूलनको नीति कार्यान्वयन गर्न कठिन हुने बताइएको हो ।

मधेश प्रदेशको बढी कुष्ठरोगी भएको धनुषा तथा महोत्तरी जिल्लामा शुरु भएको कुष्ठरोग सार्ने क्रमलाई रोक्न परिष्कृत पद्धतिको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा यस क्षेत्रका सहभागी विज्ञहरूले सन् २०३० सम्ममा नेपालबाट कुष्ठरोग उन्मूलन गर्न कठिन हुने बताए ।

अहिले धनुषामा १ हजार ४ सय ८३ र महोत्तरीमा १ हजार ७ सय ३० जना कुष्ठरोगीहरु रहेको आर ई पी प्लस प्लस कार्यक्रमका संयोजक डा. रविन्द्र कुशवाहाले जानकारी दिए।

उनले देशमा रहेका कूल कुष्ठ रोगी मध्ये मधेश प्रदेशमा मात्र ४५ प्रतिशत रहेको जनाउँदै यो कार्यक्रम रौतहट, बारा तथा पर्सामा यस अघि नै सञ्चालनमा रहेको बताए ।

उनले कुष्ठ रोगीको सम्पर्कमा लगातार २० घण्टासम्म रहेको खण्डमा रोग सर्ने भएकाले यसको शङ्का लागेमा समयमा नै परीक्षण तथा औषधि सेवन गर्नका लागि सुझाव दिए। उनले अहिले खोज कार्य जारी राखेको बताए ।

मधेश स्वास्थ्य  विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले कुष्ठरोग गरिबी तथा अशिक्षाका कारणले बढि  हुने गरेको बताए। उनले  यसको समयमा उपचार गरेमा अङ्गभङ्ग हुनबाट जोगिने भएकाले पुरानो मान्यतालाई परित्याग गरेर उपचारमा आउन आग्रह गरे ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले मधेश प्रदेश तथा देशकै स्वास्थ्य समस्याको रुपमा कुष्ठरोग रहेपनि घर दैलो कार्यक्रमका लागि  प्रदेश तथा संघले बजेट विनियोजन नगरेकोमा दुःख व्यक्त गरे । उनले सन् २०३० सम्ममा मुलुकमा कुष्ठरोगी उन्मूलन गर्ने लक्ष्य लिएको बताउँदै १० हजार जनसङ्ख्यामा १ जनामा रोग भएको खण्डमा उन्मूलन भएको मान्न सकिने मान्यता भएको बताए ।

कुष्ठरोगको खोजतलास तथा रोगीलाई उपचारमा ल्याउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन, समन्वय तथा सहकार्य गर्न प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ चर्म रोग विशेषज्ञ डा. रामज्ञान यादवको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ ।

मधेश प्रदेका स्वास्थ्य निर्देशक विजय कुमार झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको निर्देशनालयका कुष्ठरोग सम्पर्क अधिकृत राजवीर यादवले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved