निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत

नेपालभ्युज

निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत
फाइल तश्वीर

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा  १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । आइतबार अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई त्यसबारे  सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीले प्रस्ताव गरेको थियो । तर, अर्थले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति दिएको छ । यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ ।

मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरी धेरै चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सबै कारागारमा मतदान केन्द्र रहने हुनाले थप सुरक्षाकर्मी चाहिने प्रहरी अधिकारीहरु बताउँछन् ।

यसअघि, प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमार्फत अर्थमा पठाएको थियो । तर, अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति गरेसँगै प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाउन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved