महिलाको योगदान इतिहासमा लेख्न जरुरी छ : मन्त्री श्रेष्ठ

महिलाको योगदान इतिहासमा लेख्न जरुरी छ : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अहिले अग्रजलाई सम्मान गर्न सके आगामी पुस्ताले पनि हामीलाई सम्झने बताएकी छन् । मानव अधिकारका लागि एकल महिलाको केन्द्रीय कार्यालय छहारी भवनमा आज आयोजना गरिएको अग्रज महिला सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले महिलाले गरेको महत्वपूर्ण योगदानलाई नसम्झिएका कारणले नै पुरुषको मात्र इतिहास लेखिएको र महिला पछाडि परेको बताईन् ।

नेपाली महिलाले हिजोदेखि आजसम्म राज्य सञ्चालनमा, युद्धको क्रममा वा सामाजिक परिवर्तन तथा शिक्षाको क्षेत्रलगायत विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान नेपाली इतिहासमा कहिले पनि लेखिएन । जस कारण नेपाली समाजमा महिलालाई सधैँ ओझेलमा पारिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले स्मरण गर्दै भनिन्, ‘हाम्रो समाज भनेको सामन्तवादी समाज थियो, पुरुष प्रधान समाज थियो, त्यसैको कारणले गर्दा पुरुषका मात्र इतिहास लेखियो, महिलाको इतिहास लेखिएन । तर जति पनि सफल पुरुष हुनुहुन्छ उहाँहरू सफल हुनुमा महिलाको हात छ । त्यसैले अब ‘हिज स्टोरी’ मात्र होइन हामीले ‘हर स्टोरी’को सुरुआत गर्न आवश्यक छ ।’

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान समयमा व्यवस्था बदल्ने भन्दा पनि हामीमा भएको सोच विचार बदल्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । उनले महिला हकहितका लागि विभिन्न सङ्घसंस्था स्थापना भए पनि व्यवहारमा लागू नभएको भन्दै ती संस्थाको भर नपरी महिला आफैँ सशक्त हुनुपर्नेमा जोड दिईन् ।

त्यसैगरी कार्यक्रममा सम्मानित  भएकी समाजसेवी तथा साहित्यकार भद्राकुमारी घलेले राजनीतिक, सामाजिक, आर्थिकलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अग्रज महिलालाई सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘महिला सृष्टिकर्ता भएका कारण महिलालाई सम्मान गर्नुपर्छ ।’

मानव अधिकारका लागि महिला एकल महिलाको संस्थापक अध्यक्ष लिली थापाले देशका लागि योगदान पुर्‍याउने हरेक महिलाको जिउँदो इतिहासलाई जीवन्त राख्न आवश्यक रहेको बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अग्रज महिला ९२ वर्षीय भद्राकुमारी घलेसहित अन्य १२ जनालाई सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved