गठबन्धनमा बस्ने/नबस्नेबारे लोसपाले भोलि टुङ्गो लगाउने

नेपालभ्युज

गठबन्धनमा बस्ने/नबस्नेबारे लोसपाले भोलि टुङ्गो लगाउने
फाइल तस्वीर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धनमा बस्ने/नबस्नेबारे भोलि (शुक्रबार) टुंगो लगाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।

संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

यस्तै, गठबन्धन र सरकार लगायतको विषयमा शुक्रबार छलफल गर्ने तय भएको सोनलले जानकारी दिए । त्यसपछि लोसपाको आगामी यात्रा तय हुने उनको भनाइ छ । उनले भने, ‘नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री देउवा सकारात्मक नै हुनुहुन्छ, संसदबाट विधेयक पास हुनेमा विश्वस्त हुनुहुन्छ । अन्य विषयमा प्रधानमन्त्रीसँग भोलि पनि कुरा हुने सम्भावना छ ।’

तर, जसपाको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाँच दलमा लोसपा सहभागी हुने सम्भावना समाप्त भएको कुरा राखेका थिए । गठबन्धनको बैठक पनि लोसपालाई ल्याउनेमा सकारात्मक देखिएको छैन । यद्यपि, प्रधानमन्त्री देउवाले गठबन्धनमा ल्याउने विषयमा लोसपालाई आश्वासन दिँदै आएका छन् । विगतमा प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा आउन आग्रह गरेका थिए ।

जतिबेला लोसपा एमालेसँग निकट थियो, त्यो निकटता तोड्नका लागि प्रधानमन्त्री देउवाले पटकपटक लोसपालाई गठबन्धन तथा सरकारमा आउन आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved