काठमाडौंमा ‘नो हर्न’ अभियान सुरु

नेपालभ्युज

काठमाडौंमा ‘नो हर्न’ अभियान सुरु
फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आइतबारबाट ‘नो हर्न’ अभियान थालेको छ । काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि प्रभावकारी पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्ने अभियान सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आइतबारबाट यो अभियान सुरु गरिएको छ । सवारीको गम्भीर दुर्घटना हुनेगरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरूमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

अनावश्यकरूपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था छ । ‘नो हर्न’ को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुनेछैन ।

‘नो हर्न’ अभियान प्रभावकारी बनाउन अभियान सुरू गरिएको अवसरमा  आइतबार बिहान आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको बताए । सवारी चालकहरूलाई धैर्य भई हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved