योगेश भट्टराई भन्छन् – सरकारले एक वर्ष समयको बर्बादीबाहेक केही गरेन

ओलीको नेतृत्वको सरकारले ल्याएका खोपको उचित व्यवस्थापन मात्रै गर्न सके अहिलेसम्म सबै नेपालीले डबल डोज खोप पाउने दाबी गर्दै उनले देउवा नेतृत्वको सरकारको प्राथमिकता जनस्वास्थ्य नभई हावादारी गफ मात्रै भएको बताए।

नेपालभ्युज

योगेश भट्टराई भन्छन् – सरकारले एक वर्ष समयको बर्बादीबाहेक केही गरेन
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का नेता एवं स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले सरकारले एक वर्षमा समयको बर्बादी मात्रै गरेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले सरकार गठन भएको एक वर्षमा संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको बताएका छन्।

संविधानको गलत व्याख्या गरी नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बनेको बताउँदै यो सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नुभएको संवोधन, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको दाबी उनले गरेका छन्।

संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले छेउ-टुप्पो नै फेला पार्न नसकेको उनको भनाइ छ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सन् २०२२ को जुन महीनासम्म कुल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाइसक्नुपर्ने लक्ष्य दिएकोमा त्यो लक्ष्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोर व्यस्थापन र नेतृत्वका कारण, पर्याप्त खोप हुँदाहुदै पनि पूरा हुन नसकेको उनले बताए।

एमाले अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमा भएका सम्झौताअनुसारका खोपको व्यवस्थापन मात्रै गर्न सके अहिलेसम्म सबै नेपालीले डब्बल डोज खोप पाउन सक्ने दाबी गर्दै उनले देउवा नेतृत्वको सरकारको प्राथमिकता जनस्वास्थ्य नभई हावादारी गफ मात्रै भएको उनले बताएका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved