जनकपुरधाम बजार बन्द गराउँदै हिँडेका १ सय २१ चुरे अभियानी पक्राउ

नेपालभ्युज

जनकपुरधाम बजार बन्द गराउँदै हिँडेका १ सय २१ चुरे अभियानी पक्राउ

जनकपुरधाम।  बजार बन्द गराउँदै हिँडेका एक सय २१ जनालाई आज जनकपुरधाममा प्रहरीले पक्राउ गरेको छ।

चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुमबासीहरूले आज जनकपुर बन्द गराउँदै हिँडेका थिए। पक्राउ पर्नेहरूमा एक सय १० जना महिला र ११ जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पूर्वघोषित कार्यक्रमअनुसार उनीहरूले आज (बिहीबार) जनकपुरधाम बजार बन्द गराउन खोज्दा धनुषा प्रहरीले जनकपुरधामको विद्यापति चोक, कुआ बजार, शिव चोक र मिल्स एरियालगायत ठाउँबाट नियन्त्रणमा लिएको हो।

सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको, वर्षौदेखि बसोबास गर्दै आएका सुकुमबासीलाई जग्गाधनी प्रमाणपत्र दिनुपर्ने उनीहरूको माग छ।

२५ असारमा चुरे तथा वन जंगल संरक्षण अभियानीले चुरे संरक्षणसहित तीनबुँदे माग सार्दै मधेश प्रदेशका राजधानी बन्दको घोषणा गरेका थिए।

मधेश प्रदेश सरकारले आफूहरूसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्न, तराई मधेशका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबास गरेकालाई भूमि अधिकार दिन र चुरे क्षेत्र मास्ने काम तत्काल बन्द गर्नुपर्ने माग पनि चुरे अभियानीहरूको छ।

अभियानीहरूले आफ्ना माग पूरा गराउन २७ असारमा विभिन्न निकायमा ध्यानाकर्षण गराउने, २८ गते दिउँसै मसाल जुलुस प्रदर्शन गर्ने, २९ गते भूमिहीन तथा सुकुमबासी महिलाले झाडु जुलुस गर्ने र अन्तिम तथा चौथो दिन ३० गते मधेश प्रदेशका राजधानी जनकपुरधाम एक दिन बन्द गर्ने घोषणा गरेका थिए।

अभियानकर्मीहरू सिरहा जिल्लास्थित मारुती सिमेन्ट उद्योगले सरकारी वन बुट्यान क्षेत्र गरेको अतिक्रमणलाई हटाउन पाँचबुँदे माग गर्दै आमरण अनशनसमेत बसेका थिए। उक्त अनसन तोडाउन सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले साँतबुँदै सम्झौता गरेका थिए।

सम्झौता गरेको एक वर्ष बित्न लाग्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

प्रदेश सरकारले चुरे अभियानहरूसँग अनशनकारीहरूले गरेको मागबारे छानबिन गर्न सात दिनभित्र समिति गठन गर्ने, छानबिन प्रतिवेदनको आधारमा कारबाही अघि बढाइने, उक्त छानबिनमा चुरे अभियानीहरूले सहयोग गर्ने, चुरे अभियानी दिलिप महतोलाई पर्यावरण शहीद घोषणा गर्ने र उनको परिवारका एक जनालाई सरकारी जागिर दिने, चुरे क्षेत्रको वैज्ञानिक व्यवस्थापन तथा श्रोतहरूको अनियमित दोहन रोक्न व्यवस्था मिलाउने लगायतका सम्झौता गरेको थियो।

बजार बन्द गराउने अभियानकर्मीहरूको कोशिशलाई नाकाम गर्न दिनभर जनकपुरधाम बजार क्षेत्रभित्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता दीपक रायले प्रक्रिया पुर्‍याएर पक्राउ परेकाहरूलाई साँझ रिहा गरिदिने जनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved