झापामा ‘नाइरोबी फ्लाइ’का संक्रमित भेटिए

झापाका १५ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ।

झापामा ‘नाइरोबी फ्लाइ’का संक्रमित भेटिए

झापा। झापाका १५ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ।

‘‘बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का संक्रमित आउनुभयो,’’ अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालक स्वास्थ्य सहायक कलम निरौलाले भने, ‘‘एक हप्ता जति भयो, शरीरका विभिन्न अंगमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको। बिहीबार मात्र १०० लाई औषधि दिएर पठाएँ।’’

उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आएका सोही रोगका सङ्क्रमितहरूलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए।

उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ। उनले स्थानीय मेडिकलहरूमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए। विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलो पटक यति धेरै मात्रामा एन्टिभाइरल क्रिम बिक्री गरेकोसमेत जानकारी दिए।

उनले एक हप्ताको अन्तरालमा झन्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिए। उनले भने,‘‘औषधि नै सकियो, बिर्तामोडको मिरिका फार्मेसीबाट थप मगाएको छु।’’
मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अंगमा डढुवा घाउजस्तो भएका धेरै नै बिरामी आइरहेको बताए।

उनका अनुसार हाल बालबच्चा र ज्येष्ठ नागरिकहरूमा सो समस्या बढी देखिएको छ। ‘‘नाइरोवी हो होइन हामीलाई थाहा छैन, आधिकारिक रुपमा पुष्टि भएको छैन’’,  उनले भने, ‘‘डढुवा घाउको सङ्क्रमण बढेको छ। गर्मी र वर्षाको समयमा यस्ता समस्या लिएर आउने हुन्छन् तर विगतको भन्दा चाहिँ बढेको छ।’’

स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्यचौकीमा नाइरोवीका बिरामी नआएको जनाएको छ। कार्यालयका तथ्यांक अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो किराबाट पीडित बनेका बिरामी आउने गरेको जानकारी दिए पनि आधिकारिक स्वास्थ्य कार्यालयमा बुझ्दा कतै पनि बिरामी फेला नपरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved