शेखर कोइराला समूहको बैठक बस्दै, देउवामाथि दबाब बढाउने प्रयास

बढ्दै गएको बाम गठबन्धनको चर्चाका कारण पनि प्रधानमन्त्री देउवा सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएका बालुवाटार स्रोत दाबी गर्छ।

नेपालभ्युज

शेखर कोइराला समूहको बैठक बस्दै, देउवामाथि दबाब बढाउने प्रयास

काठमाडौं। नेपाली कांग्रेसभित्र संघीय निर्वाचनमा सत्तारुढ दलबीचको गठबन्धनलाई निरन्तरता दिने वा नदिने चर्चा चल्दै गर्दा संस्थापन इतरको शेखर कोइराला समूहको बैठक आज बस्दैछ।

यसअघि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गर्न नहुने पक्षमा रहेको यो समूह संघीय निर्वाचनमा पनि पार्टी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने विचार राख्दै आएको छ। त्यसो त प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकलौटी हिसाबमा सञ्चालन गरेको भन्दै कोइराला समूहको बैठक बस्न लागेको बताइएको छ।

सो समूहले पार्टी सभापति देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै आन्तरिक छलफलमा जुट्न लागेको हो। २० असारमा बस्ने तयारी भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि शेखर समूहले आफ्नो पक्षको बैठक राखेको हो।

पार्टीका केही शीर्ष नेताले स्थानीय तहको निर्वाचनमा जस्तै संघीय निर्वाचनमा पनि पार्टीले गठबन्धन गर्नुपर्ने विचार राख्दै आएका छन्। यस्तो विचार राख्ने कांग्रेस नेताहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्कादेखि कृष्णप्रसाद सिटौला रहेका छन्।

तर, पार्टीले संघीय निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा जस्तै पेलेर जाने रणनीति बनाएको खण्डमा त्यसले पार्टीभित्रै विग्रह ल्याउन सक्ने कोइराला पक्षका नेताहरु बताउँछन्।

कोइराला निकट राजनीतिक विश्लेषक पुरञ्जन आचार्य त स्थानीय तहमा जस्तै संघीय निर्वाचनमा पनि पार्टीले गठबन्धन गर्ने निर्णय गरेको खण्डमा पार्टी विभाजन हुनसक्ने खतरा देख्छन्।

“पार्टीभित्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न धेरै नेताहरु आकांक्षी छन्,” विश्लेषक आचार्य भन्छन्, “गठबन्धन गर्दा अन्य दलका नेतालाई पनि सिट दिनुपर्ने हुँदा त्यसले कांग्रेसभित्र असन्तुष्टि तीव्र हुन्छ, जसले पार्टी जीवनमा नै समस्या ल्याउन सक्छ।”

यता प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई भने ६०/४० प्रतिशतको हिसाबमा निर्वाचनमा गठबन्धन गर्नुपर्ने आन्तरिक दबाब बढेको छ।

गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले २०७४ को निर्वाचनमा नेकपा एमाले विजयी भएको स्थानको मात्रै सिट भाडफाँड हुनुपर्ने बताउँदै आएका छन्। यस्तो प्रस्ताव कांग्रेसलाई स्वीकार गर्न अप्ठेरो हुनेछ।

कांग्रेसभित्र १६५ निर्वाचन क्षेत्रमध्य कम्तिमा १०० स्थानको दाबी पार्टीले गर्नुपर्ने मत छ भने गठबन्धनले गरेको प्रस्ताव मान्दा कांग्रेसलाई स्वतः घाटा लाग्ने देखिन्छ।

संघीय निर्वाचनमा कोइराला पक्षको अनिच्छा देखिए पनि प्रधानमन्त्री देउवा आफै पनि गठबन्धनको पक्षमा रहेका छन्। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको प्रचारकै क्रममा पनि गठबन्धनले आगामी संघीय निर्वाचनसम्मै निरन्तरता पाउने बताएका थिए।

अर्कोतर्फ बढ्दै गएको बाम गठबन्धनको चर्चाका कारण पनि प्रधानमन्त्री देउवा सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएका बालुवाटार स्रोत दाबी गर्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved