एसपीपीमा सहभागीका लागि पठाइएको पत्रले तनाव, सेनाको आकस्मिक बैठक

पठाइएको पत्रबारे छानबिन र सत्यता जाँच गर्न नेपाली सेनाको हेडक्वार्टरमा आकस्मिक बैठक बसेको छ।

नेपालभ्युज

एसपीपीमा सहभागीका लागि पठाइएको पत्रले तनाव, सेनाको आकस्मिक बैठक

काठमाडौं । विवादितै बन्दै गएको अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम (एसपीपी) मा सहभागीका लागि पठाइएको पत्रबारे छानबिन र सत्यता जाँच गर्न नेपाली सेनाको हेडक्वार्टरमा आकस्मिक बैठक बसेको छ।

नेपाली सेनाले पठाएको भनिएको पत्रबारे बैठकमा छलफल हुने बताइएको छ।

एसपीपी सम्झौताबारे प्रक्रिया शुरु नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग साझेदारी नगर्ने प्रतिबद्धता जनाएकै भोलिपल्ट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएको थियो। उक्त पत्र सार्वजनिक भएपछि सेनाले बैठक डाकेको हो।

तर सार्वजनिक भएको पत्रको आधिकारिकता शंकास्पद छ। सेनाले पठाएको भनिएको पत्रमा सेनाले प्रयोग गर्ने लोगो मिलेको भने छैन। एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको दुई सातामा भएको सम्झौता भनिए पनि त्यो पत्र कुन मन्त्रिपरिषद्को निर्णयबाट लेखिएको हो त्यो खुल्न सकेको छंन। पत्रमा २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको १५ दिनपछि लेखिएको छ।

यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि सेनाले बुधबार त्यसको खण्डन गरेको थियो।

सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले हस्ताक्षर गरेका छन्। हालै अमेरिकी सेनाका प्यासिफिक कमाण्डर नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय चर्चामा छ।

तत्कालीन प्रधानसेनापतिले लेखेको भनिएको पत्रमा पत्र संख्या विवरण र मितिको विवरणमा दुई ठाउँ हस्ताक्षर देखिएको छ। सेनाका प्रधानसेनापतिले नभई सैनिक सचिवले पत्रमा हस्ताक्षर गर्ने प्रचलन भए पनि पत्रमा त्यस्तो छैन। नेपाली सेनाले भने उक्त पत्र नियोजित रुपमा बाहिर ल्याइएको दाबी गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved