पाँच ओटै प्रदेशको नीति तथा कार्यक्रममा ‘गरीखाने अभियान’ समावेश

पाँच ओटै प्रदेश सरकारले नीति तथा कार्यक्रममा ‘गरीखाने अभियान’ समावेश गरेका छन्।

नेपालभ्युज

पाँच ओटै प्रदेशको नीति तथा कार्यक्रममा ‘गरीखाने अभियान’ समावेश

काठमाडौं। पाँच ओटै प्रदेश सरकारले नीति तथा कार्यक्रममा ‘गरीखाने अभियान’ समावेश गरेका छन्।

उद्यमशील सोचलाई सीप, प्रविधि, पूँजी र बजारसँग सम्बन्ध स्थापित गराई देशव्यापी रूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई पाँच ओटै प्रदेश सरकारले ग्रहण गरेका हुन्।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले स्वदेशमै केही गरौँ भन्ने आकांक्षा राख्ने युवा तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्नका लागि ‘गरीखाने अभियान’ सञ्चालन गर्न लागेका हुन्।

नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार  दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले यसअघि नै आफ्नै पहलमा गरीखाने अभियानलाई देशव्यापी बनाएको छ। उद्यमशीलता र रोजगारका अवसरसँग युवालाई आबद्ध गर्ने यस अभियानले उद्यमशीलताको महत्वबारे जागरण सिर्जना गरेको समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले बताए।

‘‘नेपाली कांग्रेसको यो सोचले व्यापकता प्राप्त गर्नु उत्साहजनक छ,’ चौधरीले भने, ‘‘देशमै उद्यम र रोजगारीका अवसरले मुलुकमा रोजगारीका अवसर प्राप्त हुनुका साथै उत्पादकत्व समेत वृद्धि हुन्छ। यसले अर्थतन्त्रको दिगो, समावेशी र फराकिलो आर्थिक विस्तारलाई स्थायित्व प्रदान गर्छ।’’

यस अभियानले छोटो समयमै देशभर उपस्थिति जनाएको छ भने यसमा आबद्ध भएर उद्यमशील बन्न चाहनेहरूको संख्या उल्लेख्य बढेको छ। एक वर्षको अवधिमा ‘गरीखाने अभियान’ मा आबद्ध १२९ उद्यम परियोजनालाई बैंक तथा वित्तीय संस्थाको सहुलियतपूर्ण कर्जा उपलब्ध भएर उद्यम/व्यवसाय सञ्चालन गर्दै आएका छन्।

उद्यमशील बन्ने आकांक्षा राखेर ‘गरीखाने अभियान’मा जोडिएका सबैलाई स्थानीय सम्भावना अनुसारका उद्यम सञ्चालन गर्न सम्भावना पहिचान, व्यवसाय दर्ता, व्यावसायिक योजना विकास, सीप तथा प्रविधि र पूँजी उपलब्ध गराउने संस्थाहरूसँग समन्वय, सम्भावित जोखिमबारे अभिमुखीकरण र बजार पहुँच लगायत उद्यमशीलताको सम्पूर्ण ‘इकोसिस्टम’मा आधारित सेवा गरिखाने अभियानका साझेदार संस्थाहरूमार्फत् सेवा उपलब्ध हुँदै आएको छ।

प्रदेश सरकारहरूले समेत स्वामित्व लिएपछि आगामी दिनमा यो अभियानले अझै तीव्रता पाउने र लाखौँ युवाको उद्यमशील बन्ने आकांक्षा पूरा गर्न यो अभियान कोशेढुंगा बन्ने चौधरीले विश्वास व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved