सबै प्रकारका बालश्रम उन्मुलनमा सरकारले काम गरिरहेको छ : मन्त्री श्रेष्ठ

नेपालभ्युज

सबै प्रकारका बालश्रम उन्मुलनमा सरकारले काम गरिरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम उन्मुलनमा सरकारले काम गरिरहेको बताएका छन्। ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

स्विट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा आज भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पूर्णरुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता रहेको बताए। सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको मन्त्री श्रेष्ठले बताए।

आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले आप्रवासी कामदारले गन्तव्य तथा सम्बद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्ने बताए।

मन्त्री श्रेष्ठले महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था बिस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुहरुको मूल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगहरुमा समेत यसबाट असर पुगेको बताए।

नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औधोगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराउँदै मन्त्री श्रेष्ठले नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको बताए। उनले श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धी जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्वपूर्ण कदम रहेको बताए।

सिमान्तकृत तथा बेरोजगार नागरिकहरुलाई केन्द्रमा राखी शुरु गरिएको सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकाहरुलाई पनि केही मात्रामा सहयोग पुर्याएको मन्त्री श्रेष्ठले बताए। व्यावसायिक सीप विकास तालिम नीति तथा संरचनाहरु निर्माण गरी रोजगारका अवसरहरु उपलव्ध गराउन लागिपरेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आईएलओका सदस्य रहेका विभिन्न देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा श्रमिक नेताहरुले सम्बोधन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved