भरतपुरमा मतदाता प्रभावित पार्न गएका भन्दै प्रचण्ड र दुई मन्त्रीविरुद्ध भिडिओसहित उजुरी दर्ता

मन्त्री श्रेष्ठद्वयले आर्थिक चलखेल गरेको आरोप

नेपालभ्युज

भरतपुरमा मतदाता प्रभावित पार्न गएका भन्दै प्रचण्ड र दुई मन्त्रीविरुद्ध भिडिओसहित उजुरी दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन जना मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको उजुरी परेको छ।

उनीहरूविरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन्।

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ।

बुधबार चितवन आएका प्रचण्डले मौन अवधिको समयमा पनि कार्यकर्तालाई जम्मा गरी चुनाव जिताउन अपिल गरेको उजुरीमा उल्लेख छ। उजुरीअनुसार प्रचण्ड बिहीबार बिहान पश्चिम चितवनको विभिन्न स्थानमा गठबन्धनका उम्मेदवारका लागि भोट माग्न गएका थिए।

मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै पर्वाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर-घरमा पुगेर प्रचण्डले प्रभावमा पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको छ।

साथै मन्त्री श्रेष्ठद्वयले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भनिएको २ वटा भिडियो क्लिप पनि उजुरीमा संलग्न गराइएको छ। मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार निर्वाचन आयोगले सम्बन्धित व्यक्तिहरूलाई ८ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रचण्ड माडीको विद्यानगर गएर राजनीतिक दलका प्रतिनिधिहरूलाई भेला गरेको उजुरीमा जनाइएको नेपालभ्यूजसँग बताए। तर प्रचण्डसँग अरू कोको थिए भन्नेबारे उजुरीमा उल्लेख नभएको उनले बताए। नेकपा माओवादी चितवनको पार्टी कार्यालयमा यसबारे जानकारी गराइएको पनि उनले जानकारी दिए।

बुधबार स्थलमार्ग हुँदै भरतपुर आइपुगेका प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेताकार्यकर्ताहरूलाई भेटेका थिए। आज बिहीबार अध्यक्ष प्रचण्ड मतदाता प्रभावित चितवनको माडी पुगेका थिए। माडीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता ऋिषिराम काफ्ले मेयरमा उठेका छन्।

भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरू गृह जिल्ला चितवन आइसकेका छन्। प्रचण्ड, नेकपा (एमाले) का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृह जिल्ला चितवनमै छन्।

प्रचण्ड बुधबार चितवन आएका हुन्। उनी गृह जिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यतालिका छ। उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ। उक्त मतदानस्थलमा उनीलगायत एक हजार ६७८ जना मतदाता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved