मधेश प्रदेशमा व्यापक रूपमा निर्वाचन आचारसंहिता उल्लंघन

नेपालभ्युज

मधेश प्रदेशमा व्यापक रूपमा निर्वाचन आचारसंहिता उल्लंघन

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गर्ने काम भइरहेकोले यसको नियन्त्रणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकता माथि जोड दिइएको छ।

संवाद समूह मधेश प्रदेशको आयोजनामा आज जनकपुरधाममा सम्पन्न ‘निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका’ विषयक संवाद कार्यक्रममा सहभागीहरूले सप्तरीदेखि पर्सा जिल्लासम्ममा निर्वाचन आचारसंहिताको उल्लंघन अत्यधिक भएको धारणा व्यक्त गरेका हुन् ।

सहभागीहरूले गाउँबस्तीमा प्रचार सामाग्री जताततै टाँस्ने तथा झुण्ड्याउने काम गरेकाले फोहोर बढिरहेकोभन्दै यसमा रोक लगाउन आवश्यक भएको बताए।

सहभागी वक्ताहरूले डीजे तथा हर्न प्रयोग अत्यधिक मात्रामा भएकाले सर्वसाधारणमा मानसिक तनावको अवस्था आएकाले हर्न प्रयोगमा नियन्त्रण गरेर निर्वाचन आचारसंहिता पालना गर्न लगाउन आवश्यक भएको बताए।

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारहरू पनि आफैं निर्वाचन आचारसंहिता पालना गरेर अरूलाई पालना गर्न दबाब दिन जरुरी रहेको बताए। उनले सामाजिक सञ्जालमा मिडिया काउन्सिलका सदस्य वन्दना झाले गरेको पोष्टको विषयमा काउन्सिलको बैठक बसेर कारबाही गर्ने बताए।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सप्तरीदेखि पर्सासम्म आचारसंहित उल्लंघनका घटना अत्यधिक मात्रामा भइरहेकोमा चिन्ता व्यक्त गर्दै डीजे आतंक रोक्न स्थानीय प्रशासनसँग आग्रह गरे।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले धनुषाबाट ६ जना पत्रकारले महासंघका सदस्य सदस्यता त्याग नगरेर उम्मेदवार बनेकाले उनीहरूको सदस्यता चाँडै खारेज गर्न जिल्लाले निर्णय गरेर केन्द्रमा पठाउने जनाए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले निर्वाचन आचारसंहिता उल्लंघन पत्रकारहरूबाट पनि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यस्ता पत्रकारमाथि कारबाही गर्न आवश्यक भएको बताए।

कार्यक्रमको संयोजन पत्रकार नित्यानन्द मण्डलले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved