दश दिनदेखि उठेन काठमाडौंको फोहोर, कहिले उठ्छ टुंगो छैन

नेपालभ्युज

दश दिनदेखि उठेन काठमाडौंको फोहोर, कहिले उठ्छ टुंगो छैन

काठमाडौं। पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ। पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ।

पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ। हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो।

काठमाडौं महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहोर व्यवस्थापन गरेपनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहोरको गाडी लान नदिने भनेपछि अहिले फोहोर लाने काम पूर्ण रुपमा ठप्प भएको छ।

लामो समयसम्म सडकमा फोहोर थुप्रिँदा आवतजावत गर्न समस्या भएको छ। फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताए। उनका अनुसार विसं २०७० देखि शुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ।

“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, राईले भने, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।” उक्त स्थान भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिन्छ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन। नियमित पानी पर्न शुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ।

फोहोरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved